जनता टाइम्स

१५ कार्तिक २०८१, बिहीबार १३:२८

रबिपत्नी निकिता पनि सहकारी ठगीकै धन्दामा तथ्य खुल्यो : डमी समिति बनाएर साई स्वागतबाट बाहिरिएको प्रमाण भेटियो


काठमाडौं, कात्तिक १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछानेकी कान्छी पत्नी निकिता पौडेल पनि सहकारी ठगीकै धन्दामा संलगन रहेको तथ्य खुलेको छ ।

काठमाडौंको साई स्वागत सहकारीका अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु सम्पूर्ण ‘डमी’ सञ्चालक समिति गठन गरेर बाहिरिएको तथ्य फेला परेसँगै निकितको ठगी धन्दा उदाङ्गो भएको हो । निकिताका पति रबि यतिबेला सहकारी ठगीकै अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा रहनुभएको छ ।

रबिको सहकारी ठगीमा अनुसन्धान अघि बढिरहेको बेला काठमाडौंको साई स्वागत सहकारीकी उपाध्यक्ष निकिता र आफूलाई भ्रष्टाचारबिरोधी अभियन्ता भन्दै समाचार लेखाउने र भाषण गर्दै हिडने अध्यक्ष भरत जंगमसहितका सवै पदाधिकारीहरु सहकारीको सदस्य नै नभएका र सम्पर्कमै नरहेका मानिसहरुको सञ्चालक समिति बनाएर बाहिरिएको तथ्य फेला परेको हो ।

काठमाडौं महानगरपालिकाले गरेको अनुसन्धानले सहकारी डुवाएपछि निकिता र भरतले डमी कार्यसमिति बनाएर छाडेको तथ्य फेला पारेको हो । महानगरपालिकाको प्रतिवेदनका अनुसार २०७८ साउन २८ गते संस्थाका तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरिएको छ भने संस्थाको तत्कालीन अध्यक्ष जंगमलाई जिम्मेवारी मुक्त गर्ने मनसायले २०७९ कात्तिक १२ गते संस्थाको सदस्य नै नभएको व्यक्ति निमकुमारी छन्तेललाई संचालक समितिको अध्यक्ष बनाएको पाइएको छ ।

संस्थाका पूर्वसञ्चालकले जिम्मेवारी पञ्छाउने उद्देश्यले सहकारीको सदस्य नै नभएको व्यक्तिलाई अध्यक्ष बनाएको प्रतिवेदनले जनाएको हो । त्यस्तै, साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेको व्यक्ति निशा खड्का उपाध्यक्ष बनाइएको छ ।

यसैगरी संस्थामा सदस्य नै नरहेका अन्य सञ्चालक/पदाधिकारी नियुक्ति गरी तत्कालीन संचालक समिति बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मेवारीबाट उम्किने गरी कार्य गरेको पाइएको महानगरको प्रतिवेदनमा उल्लेख छ । नयाँ नियुक्त समितिका अधिकांश मानिस संस्थाको सम्पर्कमा समेत नरहेका ब्यक्ति छन ।

काठमाडौंको साई स्वागत सहकारीका अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु सम्पूर्ण ‘डमी’ सञ्चालक समिति गठन गरेर बाहिरिएको तथ्य फेला परेसँगै निकितको ठगी धन्दा उदाङ्गो भएको हो । निकिताका पति रबि यतिबेला सहकारी ठगीकै अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा रहनुभएको छ ।

उक्त सहकारीको २०७४ पुस २८ गतेको साधारण सभाको निर्णय नम्बर ६ बमोजिम तत्कालिन अध्यक्ष नोखराज पोखरेल, कोषाध्यक्ष योगिता पुन, सदस्यहरु लिस्सा पौडेल, सरोज लामिछाने, रजनीश आचार्य तथा लेखा समिति सदस्य केदारबहादुर दाहालको राजिनामा स्वीकृत गरी रिक्त पदमा मात्र पदाधिकारी नियुक्त गरेकोमा निर्णयपुस्तिकामा केरमेट गरी विभिन्न पदमा संचालक नियुक्ति तथा हेरफेर गरेको देखिएको तथ्य पनि खुलेको छ ।

तत्कालीन उपाध्यक्ष निकिता पौडेलले २०७८ असोज ८ गते राजीनामा दिएको व्यवस्थापकले लिखित जानकारी गराए पनि संचालक समिति तथा साधारणसभाले कुनै निर्णय नगरेको पाइएको छ ।

महानगरको प्रतिवेदनले सो सहकारी संस्थाले सहकारी विभागको पूर्वस्वीकृतिबिना कार्यक्षेत्रबाहिर काठमाडौं १० नम्बर वडाबाट कार्य गर्दै आइरहेको समेत जनाएको छ । काठमाडौं– ३ स्थित साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महानगरपालिकाको सहकारी विभागले तयार गरेको ८२ वटा सूचक बमोजिम २०८० चैत २३ गते अनुगमन गरेर प्रतिवेदन तयार पारेको थियो ।

बिना निर्णय सञ्चालकलाई नै कर्जा

काठमाडौं महानगरको प्रतिवेदनअनुसार २०७९ फागुन ४ गते समितिको निर्णयबिना नै सहकारीकी सदस्य योगिता पुन २४ लाख रुपैयाँ कर्जा लगानी भनी सिस्टममा प्रविष्टि गरेको देखिएको छ ।

‘उक्त रकम सम्बन्धित ऋणी सदस्यको बचत खातामा रकमान्तर गरेको देखिन्छ तर ऋणी सदस्यको कर्जा तमसुक, ऋण आवेदन लगायत कुनै पनि कागजातमा दस्तखत भएको देखिदैन,’ प्रतिवेदनमा भनिएको छ । उक्त २४ लाखमध्ये १३ लाख २६ हजार रुपैयाँ कर्जा नम्बर ०८–०१०५ को कर्जा खाता बन्द गर्न प्रयोग भएको देखिएको तर बाँकीमध्ये १० लाख २० हजार रुपैयाँ अन्य ऋण खाता बन्द गर्न प्रयोग भएको भनी पोस्टिङ भए पनि संस्थाको सिस्टमबाट सो रकमको प्रयोग अनुगमनको क्रममा रुजु गर्न नसकिएको उल्लेख छ ।

अध्यावधिक छैन हिसाब-किताब

सो सहकारी संस्थाको अनुगमनका क्रममा २०७५ भदौ ६ गते, २०७६ असोज २ गते र मंसिर १० गते र २०७९ मंसिर २ गतेको संचालक समितिको निर्णय पुस्तिका मात्र उपलब्ध गराएको र बाँकी कागज नदिइएको पनि महानगरको प्रतिवेदनमा उल्लेख छ । साथै, अन्य कागजात तथा निर्णय, हिसाबकिताबसमेत सिस्टमबाट रुजु गर्दा अध्यावधिक गरी नराखेको पाइएको प्रतिवेदनले उल्लेख गरेको छ ।

यस्तै महानगरको प्रतिवेदनमा सन्ड्री डेब्टर्स तथा क्रेडिटर्सबाट हिसाब समायोजन गरेको देखिएको पाइएको उल्लेख छ । प्रतिवेदनअनुसार सो सहकारीले सहकारी कर्जा नोक्सानी खर्चको गलत लेखांकन गरेको समेत पाइएको छ । ‘आव २०८०/०८१ मा अनुगमन गर्दाको दिनसम्ममा सिस्टमबाट अटो कर्जा नोक्सानी व्यवस्था हुने गरी लेखांकन नगरेको र कर्जा नोक्सानी व्यवस्था लेखांकन नगरेको’, प्रतिवेदनमा उल्लेख छ ।

पदाधिकारीकै मुद्दा विचाराधीन

महानगरले चार्टड एकाउन्टेन्टहरु करारमा लिएर गरेको अनुगमनका साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राधास्वामी बचत तथा ऋण सहकारी संस्थाबाट ९५ लाख रुपैयाँ अन्तर सहकारी कर्जा तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहालले समितिको किर्ते निर्णय खडा गरी कारोबार गरेकोले किर्ते जालसाझीको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको पाइएको छ ।

यस्तै संस्थाका तत्कालीन संचालक रामहरी अधिकारी र शंकर उपाध्याय दाहालको बिरुद्दमा सहकारी ठगी र सदस्य रन्जन दाहालको बिरुद्द बैंकिंग कसुरमा जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको पाइएको छ ।