पर्वत, कात्तिक १६ । पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।
ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख हिनामिना भएको पाइएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि प्रहरीले सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मालाई पक्राउ गरेको छ ।
तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिनुभयो ।
सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन । उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो ।
सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन्। कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
व्यवस्थापक केसी दुई महिना अगाडि नै फरार भएका थिए भने अध्यक्ष गिरीनारायण श्रेष्ठ केही दिन अघिदेखि फरार भएका हुन । डीएसपी विष्टले अन्य सञ्चालकविरुद्ध पनि पक्राउ पूर्जी जारी गर्ने तयारी भएको बताउनुभयो । विसं २०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई सञ्चालमा आएको सहकारी डुबेपछि करिब ६५० बचतकर्ता समस्यामा परेका छन ।
प्रतिक्रिया दिनुहोस्