जनता टाइम्स

१९ कार्तिक २०८१, सोमबार १३:२६

छठका लागि कुटान पिसान सुरु


जलेश्वर, कात्तिक १९ । महोत्तरीसहित मिथिलाञ्चल तथा तराई मधेसमा आजदेखि छठ पर्वका लागि कुटान पिसान सुरु भएको छ । छठ पर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउन आजदेखि कुटान पिसान सुरु गरेका हुन् । तराई मधेसमा गोधन पर्व सम्पन्न भइसकेपछि छठ पूजाका लागि कुटान पिसान सुरु गर्ने परम्परा छ । आइतबार तराई मधेसमा गोधन पर्व सम्पन्न गर्दै आजदेखि छठ पर्वको कुटान पिसान सुरु गरिएको जलेश्वर नगरपालिका–८ की बर्तालु राजवती देवीले बताउनुभयो ।

छठ पर्वका लागि घर-घरमा आज बिहान अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल तथा गहुँ कुटान पिसान गरी पिठो तयार गरिने जलेश्वर–८ की बर्तालु सुमित्रा देवीले बताउनुभयो । चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी तथा जाँतोमा पिस्ने परम्परा छ । तर अहिले ढिकी र जाँतो अभाव हुन थालेपछि कतैकतै मिलमा पनि कुटान पिसान गरिन थालेको जलेश्वर–६ की विनिता देवीले बताउनुभयो ।

बिहानै आ–आफ्ना घर आँगन वा टोल छिमेकमा भएका ढिकी तथा जाँतोलाई शुद्ध र सफा पानीले धोएर पवित्र बनाएपछि गहुँ र चामल कुट्ने तथा पछि पुनः गहुँ र चामललाई धोएर सुकाएर पिध्ने गरिन्छ । यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठ पर्वमा भगवान् सूर्य र माता छठदेवीको अघ्र्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरुकियालगायत पकवान तयार गरिने जलेश्वर–२ की कोसिला देवीले बताउनुभयो । छठ पर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा नै प्रमुख प्रसाद रहने गरेका कारण यसलाई शुद्धताका साथ कुटान पिसान गरी पकाउने तयारी गरिन्छ ।