दमौली, कात्तिक १९ । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन युवाको सक्रियतामा पार्क निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘यसलाई विशेषगरी टिकटक पार्कको रूपमा विकास गरिएको छ ।
गाउँमा पर्यटकीयस्थल बनाएर आन्तरिक पर्यटक भित्र्याउने हाम्रो मुख्य उद्देश्य हो ।’ बानियाँका अनुसार हाल दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । ‘दसैँका बेला यहाँ रोटेपिङ हालेका थियौँ । यसले पनि आन्तरिक पर्यटकलाई लोभ्याएको छ । ३० फिट अग्लो नेपालको झण्डा फहराएका छौँ । विश्रामस्थलसमेत बनाएका छौं । हरियाली डाँडापाखाको दृश्यले धेरैलाई लोभ्याउँछ’, उहाँले भन्नुभयो ।
ओझेलमा रहेको सम्जुर गाउँको प्रचार-प्रसारका लागि यहाँ पार्क निर्माण गरिएको हो । ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने अभियानअन्तर्गत गाउँका युवा र विदेशमा रहेका युवाको लगानीमा पार्क निर्माण गरिएको अध्यक्ष बानियाँले उल्लेख गर्नुभयो । पार्क निर्माणका लागि भानु घर भई विदेशमा रहेकालाई आग्रह गरिएको र यसको निर्माणमा यही रहेका युवाले श्रमदान गरेका थिए । यस ठाउँलाई थप आकर्षक बनाउन अन्य पूर्वाधारसमेत निर्माण गर्ने क्लबको योजना रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्