जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १०:३२

रौतहटमा आलम आतंकको पराकाष्टा : विस्फोटको घटना लुकाउन राति नै गरियो प्रहरी इन्चार्जको सरुवा


काठमाडौं, कात्तिक ३ । रौतहटमा जिउँदै इटाभट्टामा हालेर नरसंहार गरिएको घटना लुकाउन घटनास्थल पुगेका प्रहरी प्रमुखकोरातारात सरुवा गरिएको तथ्य बाहिर आएको छ । मोहम्मद अफ्ताव आलमको गाउँ फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्स्पेक्टर इन्द्र सुवेदी । २७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा विस्फोट भयो । घटना के–कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी परिचालन भइसकेको थियो । उनी घटनास्थलमा पनि पुगिसकेका थिए, तर राति १० बजे ‘माथि’बाट आएको फोनले सुवेदीको सरुवा भयो । आफ्नो इलाकामा भएको भयानक घटनाको अनुसन्धान गर्न नपाई प्रहरी इन्चार्ज राति नै गौर पठाइयो । लगत्तै उनको ठाउँमा इन्स्पेक्टर राजीव बस्नेत गए । तर, बस्नेत र जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले अनुसन्धान होइन, घटना नै भएको छैन भन्नतर्फ लागे । यी सवै काम आलमकै निर्देशनमा भएको तथ्य अहिले खुलेको छ ।

अहिले डिएसपीको रूपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सुवेदीले राति नै आफ्नो सरुवा भएकाले घटनाको विषयमा आफूले यकिनसाथ केही भन्न नसक्ने बताए । ‘म भर्खरै इन्स्पेक्टर भएको थिएँ, त्यो ठाउँमा पनि भर्खरै गएको थिएँ, बम विस्फोट भयो भन्ने हल्ला आइरहेको थियो, स्थिति अन्धाधुन्ध थियो,’ उनले भने, ‘अहिले चर्चामा रहेको घटनास्थलमा म पुगेको थिएँ, त्यहाँ के भएको थियो भनेर राम्ररी बुझ्न बाँकी थियो, राति नै १० बजे जिल्ला सरुवा गरियो । अर्को इन्स्पेक्टरसाप त्यहाँ जानुभयो, त्यसपछिको जानकारी मलाई हुने कुरै भएन ।’

बम विस्फोट गराएर जनता भगाउने र बुथ कब्जा गरेर चुनाव जित्ने योजनाका साथ आलमको निर्देशनमा बन्दै गरेका बम अचानक विस्फोट भएपछि पूरै क्षेत्र थर्किएको स्थानीयहरूको भनाइ छ । नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनाली र टेकराज थामीले बाहिर ल्याएकोतथ्यअनुसार भारतको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने २२ वर्षका त्रिलोकप्रताप सिंह पिन्टु र दुबईको रोजगारीबाट भर्खरै आएका २१ वर्षीय वसी अख्तरलाई आलमले जबरजस्ती आफ्नो प्रचारमा लगेका थिए । बम बनाउँदै गरेका अरू थुप्रैसहित यी दुई होनाहार युवा पनि घाइते भएका थिए ।