जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार ११:५०

चाँदीको गरगहनासहित एक युवक पक्राउ


लहान, कात्तिक ३

प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ । भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो ।

विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा गरेको गाँजाखेती नष्ट

सिरहाको गोलबजार नगरपालिका–१० मा स्थानीयवासीले व्यावसायिक रुपमा गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट पारेको छ । व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले स्थानीयवासीले करीब १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो ।

अवैध रुपमा लगाइएको करीब आठ हजार ५०० गाँजाको बोट फँडानी गरी नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिनुभयो । गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने समेत प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।