जनता टाइम्स

२३ कार्तिक २०८१, शुक्रबार ०९:५८

ऊर्जा राज्यमन्त्रीकै निर्माण कम्पनी कालोसूचीमा, अरू को-को परे ?


काठमाडौं, कात्तिक २३ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङकै निर्माण कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङको कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवं ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना अनुसार कांग्रेस नेता एवं ऊर्जा राज्यमन्त्री तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एनबी कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति रहेको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन ।

यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यसैगरी रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति भएको बीजी निर्माण सेवा प्रालि पोखरा पनि कालोसूचीमा परेको छ ।

यस्तै इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन ।

ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जनाएको छ । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कानूनी ब्यवस्था रहेको छ ।