जनता टाइम्स

२३ कार्तिक २०८१, शुक्रबार १७:४१

धनराजकी पूर्वपत्नी ज्योतीसहित सहकारी अध्यक्ष भण्डारीविरूद्ध रेड नोटिस जारी


काठमाडौं, कात्तिक २३ । ललितपुरको मितेरी सहकारीको करोडौं बचत हिनामिना गरेको आरोपमा व्यवस्थापक ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी भएको छ।

केही दिनअघि गुरुङ र भण्डारीबिरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एसपी होविन्द बोगटीले जानकारी दिनुभयो । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना भएको थियो।

रेड कर्नर नोटिस जारी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुनुहुन्छ। आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आउनु भएको छ । तर सम्बन्ध यथावत रहेको र कागजी डिभोर्स गरेको आरोप पनि लाग्दै आएको छ ।

यद्यपि धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो। ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू फेला परेका थिए। यो सहकारीका अध्यक्ष कुम्मराज गुरूङ हुनुहुन्छ ।

उहाँले संसदीय विशेष छानबिन समितिमा बयान दिनेक्रममा ज्योति व्यवस्थापक रहेको र उनले सहकारीको बचत रकम नै लगेको खुलासा गर्नुभएको थियो ।