जनता टाइम्स

२६ कार्तिक २०८१, सोमबार १४:३९

भौतिक पूर्वाधारमन्त्री दाहालले गरे ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण, निर्माणमा ढिलासुस्ती नगर्न निर्देशन


ललितपुर, कात्तिक २६। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री दाहालले मन्त्रालयका उच्च अधिकारीसहित सोमबार बिहान निर्माण स्थलमा पुगेर निरीक्षण गर्नुभएको हो । निरीक्षण पश्चात मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिनुभयो । त्यस क्रममा उहाँले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने सरकारको बटमलाइनसमेत सुनाउनु भएको छ ।

काठमाडौको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न पनि मन्त्री दाहालले निर्देशन दिनुभयो । निरीक्षण टोलीमा मन्त्रीदाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायत अधिकारी हुनुहुन्थ्यो ।

२०७८ सालको फागुन १२ गते देखि ठेक्का लागि निर्माण शुरु भएको उक्त फ्लाई ओभर थप भएको म्याद थप पछि २०८१ को पुष ८ गते सम्पन्न गर्नुपर्ने छ । ३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष-समानान्तर-रेलिगेर जेभी काठमाडौले गरिरहेको छ ।