जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १४:४७

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले कात्तिक १० देखि बेइजिङ उडान गर्ने


काठमाडौं, कात्तिक ३

नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने सम्पूर्ण तयारी गरेको कम्पनीले जनाएको छ ।

“बेइजिङ उडानका लागि हामीले सबैखाले तयारी गरेका छौँ, एक/दुई दिनभित्रै उडानबारे सार्वजनिक गर्नेछौँ”, हिमालय एयरलाइन्सका एक उच्च अधिकारीले बताउनुभयो । कम्पनीले एयरबस ए–३२० जहाजबाट बेइजिङ उडान गर्नेछ । यो गन्तव्यमा सातामा तीन उडान गर्ने जनाइएको छ ।

विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको थियो । बेइजिङ अन्तरराष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले पनि छिट्टै चीनको राजधानी बेइजिङ उडान भर्ने योजना बनाएको छ । हिमालयले बेइजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बेइजिङ बाहेका यी शहरमा नोभेम्बरभित्रै उडान शुरु गर्ने बताएको छ ।

हिमालयले गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा पनि उडान विस्तार गर्ने योजना बनाएको छ । चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्दर्भमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।