जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १४:५४

सांसद पार्वत गुरुङ अदालतमा हाजिर, बयान सकियो


काठमाडौं, कात्तिक ३ । प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ अदालतमा हाजिर हुनुभएको छ । ज्यान मार्ने उद्योग गरेको आरोपमा गुपचुपमै अदालतमा मुद्दा दायर भई अदालतबाट पूर्जी जारी भएपछि दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार सांसद गुरुङ कार्यालय समय सुरु हुनेवित्तिकै अदालत हाजिर हुनुभएको थियो । उहाँका अनुसार अदालतले सांसद गुरुङको बयान सिकिएपछि थुनछेक बहश भइरहेको छ । स्थानीय तह निर्वाचनको बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा स्थानीय कुलबहादुर तामाङको हत्या भएपछि फरार रहेका सोही स्थानका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

यो पनि पढनोस

पार्वत गुरुङ फसाउन प्रहरीले गरेको त्यो जघन्य अपराध

प्रहरीले अनुसन्धान नै नगरी सवैलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश गरेपछि जिल्ला अदालतले सांसद गुरुङविरुद्ध पुर्जी जारी गरेको थियो । सांसद गुरुङ आफूबिरुद्ध किटानी जाहेरी परेको जानकारी पाएलगत्तै सोही बेला प्रहरीमा गएर जानकारी लिनुभएको थियो । तात्कालिन प्रहरी प्रमुखले मुद्दा चलाउन नमिल्ने बताए पनि केही समयअघि प्रहरीले फरार प्रतिवादी भन्दै मुद्दा दर्ता गरेपछि सांसद गुरुङले मुद्दाबारे जानकारी पाउनु भएको थियो । जानकारी पाएलगत्तै कानूनी परामर्श गरी उहाँ आज अदालतमा हाजिर हुनुभएको हो । अदालतमा अहिले थुनछेक बहश भइरहेको छ ।