वीरगञ्ज, मङ्सिर १ । खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् । खुला सीमानाकाको कारणले भारतबाट सहजै ढङ्गले लागुऔषध भित्रिँदा पनि यसको मारका यहाँका युवा परेका हुन् । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले खुला सीमा नाकाबाट अवैध रूपमा लागुऔषध भित्रिँदा युवाहरू कुलतमा फसेको बताउनुभयो ।
‘खुला सीमानाकाको कारणले स्कुले उमेरदेखि नै यहाँका युवा कुलतमा फस्ने गरेका छन्,’ उहाँले भन्नुभयो,‘अहिले युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउनुपर्ने बेला भइसकेको छ ।’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले पनि युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको बताउनुभयो । ‘खुला सीमा नाकाको कारणले पनि यहाँका युवापुस्ता लागुऔषधको कुलतमा फस्ने गरेका छन्,’ उहाँले भन्नुभयो,‘पर्सा प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यार्थी तथा युवामा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।’
प्रहरी नायब उपरीक्षक भट्टले पर्साका परेका मुद्दामध्ये अधिकांश लागुऔषधसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । ‘१५ देखि ४५ वर्ष उमेर समूहका युवाहरू लागुऔषधको कुलतमा पर्ने गरेको देखिएको छ,’ उहाँले भन्नुभयो,‘मुलुकका लागि आवश्यक पर्ने युवाशक्ति नै कुलतमा पर्दा मुलुकलाई र परिवारलाई पनि ठूलो क्षति भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आव २०७८/७९ मा लागुऔषधसम्बन्धी दुई सय २७ मुद्दा परेको थियो । जसमा दुई सय ८२ पुरुष र नौ महिला पक्राउ गरेका थिए । त्यस्तै, आव २०७९/८० मा लागुऔषध सम्बन्धित तीन सय दुईवटा मुद्दा परेको थियो ।
जसमा तीन सय ८९ पुरुष र १३ महिला पक्राउ परेका थिए । त्यस्तै, आव २०८०/८१ मा दुई सय चारवटा मुद्दा परेको थियो । जसमा पुरुष दुई सय ४२ र महिला १० जना पक्राउ परेका थिए । पर्सामा विशेषगरी गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाईजिल्याब, नुर्फिन, नाट्राभेट ट्याब्लेट, कोरेक्सलगायत प्रयोग गर्ने गर्छन् । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले पर्सा प्रहरीले लागुऔषधको दुव्र्यसनीको विरुद्धमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । ‘पर्सा प्रहरीले नागरिक समाजसँग हातेमालो गरेर लागुऔषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ,’ उहाँले भन्नुभयो,‘खुला सीमानाकाको कारणले पनि लागुऔषधको दुव्र्यसनीलाई नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।’













प्रतिक्रिया दिनुहोस्