जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार ०९:४०

देशकै पहिलो सुरूङमार्ग बन्दै नागढुङ्गा–नौबिसे, यस्ता छन् फाइदै फाइदा


काठमाडौं, कात्तिक ४

बहुचर्चित नागढुङ्गा–नौबिसे सुरूङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै हुनुहुन्छ । देशका अन्य भागबाट काठमाडौं उपत्यका भित्रिन प्रयोग हुने एउटा मुख्य नाका नागढुङ्गामा बनाइने भनिएको उक्त सुरूङमार्गबारे धेरैको चासो रहेको छ।

सोमवार शिलान्यास भए पनि उक्त सुरूङको निर्माण भने तत्कालै सुरु नहुने आयोजनाका अधिकारीले बताएका छन् । आयोजना प्रमुखका अनुसार प्रत्यक्ष निर्माण सुरु हुन भने अझै केही महिना लाग्नेछ । तर आयोजनाका लागि गर्नुपर्ने कागजी, प्राविधिक र अन्य सबै कामहरू पूरा भइकसकेकाले अब कार्यान्वयन मात्र बाँकी रहेको उहाको दाबी छ।

के भन्नुहुन्छ नागढुङ्गा–नौबिसे सुरूङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेल –

नागढुङ्गा–नौबिसे सुरूङमार्ग निर्माणका लागि धेरै प्रक्रियागत कुराहरू सम्पन्न भइसकेका छन् । तर हामीले निर्माण क्षेत्र पूर्ण रूपमा निर्माता कम्पनीलाई हस्तान्तरण गरिसकेका छौनौँ । यो आयोजना ठेक्कामार्फत् जापानको हाज्मा आन्दो कर्पोरेशनले पाएको छ । उक्त कम्पनीले हाल निर्माणस्थलमा आफ्ना शिविरहरू राख्न सुरु गरेको छ । सबै प्रक्रिया पूरा गरेर र जग्गा अधिग्रहण सम्पन्न गरेर हामी आगामी डिसेम्बरभित्र आयोजनाको निर्माण सुरु गर्नेछौँ ।

लम्बाइ

यो आयोजना सुरुङ र सडक गरि जम्मा पाँच किलोमिटर लामो छ । त्यसमा सुरूङको हिस्सा २.६८ किलोमिटर रहेको छ । तर मुख्य सुरूङसँगै अर्को आकस्मिक सुरूङको पनि निर्माण हुन्छ । केही आकस्मिक घटना भए उद्दार र सहायताका लागि दोस्रो सुरूङ बनाइन लागेको हो । ठेकेदारलाई परमर्शदाताले काम सुरु गर्ने पत्र दिन बाँकी नै छ । त्यो पत्र पाएपछि काम सुरु भइहाल्छ ।

काम सुरु भएको ४२ महिनाभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपैयाँ खर्च हुनेछ। त्यसमा नेपाल सरकारले जग्गा अधिग्रहणलगायतमा योगदान गर्नेछ । त्यो भनेको ६ देखि ७ अर्ब रुपैयाँ हो । बाँकी रकम जापान सरकारको ऋण हो । हालसम्म हामीले करिब ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको जग्गा अधिग्रहण गरिसकेका छौँ ।

जग्गा अधिग्रहण

अहिले काठमाडौं जिल्लातिरको मात्र अधिग्रहण भएको हो । धादिङमा पनि जग्गाको दररेट स्वीकृत भइसकेको छ । त्यो पनि चाँडै अधिग्रहण हुनेछ । अन्यत्र कतै पनि समस्या छैन । धादिङतर्फको ४४ रोपनी जग्गामा भने अलिकति प्राविधिक समस्या देखिएको हो । त्यो पनि लगभग समाधान भइसकेको छ । त्यस हिसाबले हामीले हालसम्म ८५ प्रतिशत अधिग्रहणको काम सकेका छौँ । यो आयोजनाको डिजाइन, डीपीआर र ठेक्काको काम सकिएकाले अन्य आयोजनाजस्तो ढिलो हुने छैन ।

कार्यान्वयनको चरणमा रहेकाले त्यसमा सबै विश्वस्त भए हुन्छ । अन्य आयोजनामा पूर्वतयारीमा नै समस्या देखिने हो । यसमा त्यस्तो समस्या छैन । ठेक्का लिने कम्पनी पनि नेपालमा उदयपुर सिमेन्टको स्थापना गर्दादेखि काम गरेको हो । यसले समयमै काम सम्पन्न गरेको र गुणस्तरीय काम गरेको रेकर्ड छ ।

आयोजनाका फाइदा

यो आयोजना नेपालका लागि निकै महत्त्वपूर्ण छ । यो नै नेपालको गाडी गुडाउन मिल्ने यस्तो खालको पहिलो सुरूङमार्ग हुनेछ । हाम्रो जस्तो पहाडैपहाड भएको देशमा सुरूङको विकल्प छैन । यसले नेपाललाई सुरूङ युगमा प्रवेश गराउनेछ । यो आयोजनाबाट प्रविधि हस्तान्तरण पनि हुनेछ । जापानीहरूले गरेको काम देखेर हामीले पनि सिक्नेछौँ । यसबाट हुने प्रत्यक्ष अर्को फाइदा भनेको ट्राफिक जामका लागि चिनिएको नागढुङ्गामा जाम हुनेछैन । गाडीहरू उकालामा बिग्रिएर बस्ने अवस्थाको अन्त्य हुनेछ । बाटो पनि साढे तीन किलोमिटर छोटो हुनेछ ।