जनता टाइम्स

१० मंसिर २०८१, सोमबार ११:२८

सुनको मुल्यमा भारी गिरावट, तोलामै १६ हजार घट्यो


काठमाडौं, मंसीर १० । बिहेको सिजन चलिरहँदा सुनको मूल्यमा भारी गिरावट आएको छ । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ महासंघका अध्यक्ष अर्जुन रसायलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको छ ।

‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिनुभयो । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो ।

उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो ।