काठमाडौं, मंसीर ११ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले उपाध्यक्षसमेत रहनुभएका अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको बताउनुभयो ।
‘सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा एमालेले गरेको हो, नेकपा एमाले नेतृत्वको सरकारले गरेको हो’, उहाँले भन्नुभयो ।
समय क्रममा सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको उहाँले बताउनुभयो । त्यसकै आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको पौडेलले स्मरण गराउनुभयो । राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको पौडेलले बताउनुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उहाँले दाबी गर्नुभयो । यसले नेपाली मजदुरलाई उत्साहित र भविष्य प्रति आश्वस्त बनाउने काम गरेको उहाँले बताउनुभयो ।
तथापि यसलाई अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो । केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उहाँले विश्वास दिलाउनुभयो ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्