जनता टाइम्स

१५ मंसिर २०८१, शनिबार ०७:३६

रबिबारे अर्काे तथ्य खुल्यो : दम्पत्तिको नाममा २१ करोडको बैंकिङ कारोबार, स्रोत खोज्दै प्रहरी


काठमाडौं, मंसिर १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण प्रहरीले संकलन गरेको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको लागि प्रहरीले लामिछाने दम्पतिको बैंक खाताको विवरण संकलन गरेको हो । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्न भन्दै अदालतबाट म्याद लिएर थुनामा राखेको छ ।

प्रहरीका एक उच्च अधिकृतका अनुसार रवि र निकिताले करिब २१ करोड बराबरको रकम बैंकमार्फत कारोबार गरेको फेला परेको छ । रविले ग्लोबल आइएमी बैंकमार्फत ८ करोड २६ लाख ९९ हजार र सिद्धार्थ बैंकमा २ करोड १० लाखको कारोबार गरेको पाइएको हो ।

निकिता पौडेलले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक मार्फत कारोबार गरेको भेटिएको छ । सो रकम उनीहरुले २०१२ भन्दा पछि कारोबार गरेका हुन । जिल्ला प्रहरी कार्यालय पोखरा र केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनीहरूको सम्पत्तिको स्रोत खोजीरहेका छन।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार करिब २१ करोड रकमको स्रोतको खोजी भइरहेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आरोपीको एकाघरका परिवारको सम्पत्तिबारे अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।