जनता टाइम्स

१७ मंसिर २०८१, सोमबार ०९:४०

सर्वसाधरणमाथि सुन ब्यवसायीको ठगी धन्दा मौलायो, सुनको भन्सार घट्दा बढाए ज्याला–जर्ती शुल्क


काठमाडौं, मंसिर १७ । सरकारले भन्सार महसुल घटाएपछि सुन ब्यवसायीहरुले सर्वसाधरण ठग्ने धन्दा सुरु गरेका छन ।

सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सर्वसाधारणले सस्तोमा पाउने भन्ठानेका सर्वसाधरणमाथि जर्तीको नाममा ठगी गरिएको हो । भन्सार दर र अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा स्थानीय बजारमा तोलामै १५ हजार ९ सय रुपैयाँले मूल्य सस्तिएको सुन जर्तीको नाममा बढाइएको छ ।

गहना व्यवसायीले सर्वसाधारणलाई अपारदर्शी एवं मनलागी रूपमा ज्याला–जर्तीको मूल्य बढाएर भाउमा मनोमानी गरिरहेका छन । यही कारण पनि होला, भन्सार दर घटेअनुसार सर्वसाधारणले सस्तोमा गहना किन्न पाएका छैनन । मूल्य घटेपछि उनीहरूले जर्ती बढाएर सर्वसाधारणसँग महँगो मूल्य असुलिरहेका हुन ।

‘औसतमा व्यवसायीले ज्याला–जर्तीका नाममा १० प्रतिशतसम्म थप शुल्क लिने गरेका थिए । यहाँ मूल्य बढ्न थालेपछि न्युरोड र विशालबजार क्षेत्रका गहना व्यवसायीले ज्याला–जर्ती घटाएर ५.९९ देखि ७ प्रतिशतसम्म शुल्क लिन थाले । अन्यले क्षेत्रकाले त्यही औसतमा १०÷१२ प्रतिशतसम्म लिए,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भन्नुभयो, ‘सरकारले ५० प्रतिशत भन्सार घटाएपछि मूल्य घट्यो । महँगोमा खरिद भएको गहना सस्तोमा बिक्री गर्न चाहेनन, अहिले फेरि ज्याला–जर्तीको शुल्क बढाए, यो भनेको ठगी हो ।’

असारयता विशालबजार क्षेत्रका सबै गहना व्यवसायीले ज्याला–जर्ती घटाएका थिए । उनीहरूले होडिङबोर्ड नै राखेर ज्याला–जर्ती घटाइएको विज्ञापन गरेका थिए । अहिले भने होडिङ बोर्ड हटाएका छन । मूल्य धमाधम बढाएर बेच्न थालेका हुन ।

रिद्धिसिद्धिले उपभोक्ताको हितका लागि भन्दै ज्याला–जर्तीको शुल्क ५.९९ प्रतिशत मात्रै लाग्ने विज्ञापन गरेको थियो । सरकारले भन्सार दर घटाएपछि उसले विज्ञापन परिवर्तन गरेको छ । पछिल्लो समय उचित र पारदर्शी ज्याला अर्थात सर्वसाधारणको सहमतिमा ज्याला लिने दाबी गरेको छ । तर रिद्धिसिद्धिले उचित ज्याला–जर्तीका नाममा गणेशको लकेटमा ३३.६५ र तिलहरीमा ५६.२५ प्रतिशतसम्म ज्याला लिएको तथ्य भेटिएको छ ।

यही मंसिर ११, १२ र १३ गते उपभोक्तालाई बिक्री गरेको बिलमा ज्यालाका नाममा अत्यधिक पैसा असुलेको छ । ‘कालोबजारी ऐनअनुसार २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइन्न । तर ५६ प्रतिशतभन्दा बढी मुनाफा लिइएको भेटिएको हो । खुला सीमाका कारण तस्करी मौलाएको र जर्तीका नाममा मनोमानी भइराखेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताउनु भयो ।

उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारले सुनको भन्सार दर ५० प्रतिशत घटाएको छ । सुनको भन्सार घटाएपछि गहना किन्नेको चाप बढेको छ । तर उनीहरूले बजारमा सुन नभएको भन्दै त्यति बिक्री गरिरहेका छैनन ।