कञ्चनपुर, मङ्सिर १७ । प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो । गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन् ।
‘राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, बासस्थानबारे अध्ययन अनुगमनको कार्य हुँदै आएको छ’, सङ्घका चराविज्ञ हिरुलाल डगौराले भन्नुभयो,‘यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ ।’ उहाँका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ ।
कैलाली र कञ्चनपुरमा अनुगमनको कार्य पूरा भएपछि डडेल्धुरा र बैतडीमा पनि गिद्धको गुँड तथा अवस्थाका बारेमा अध्ययन अनुगमनको कार्य हुने उहाँले बताउनुभयो । गिद्धका गुँड अनुगमनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग समन्वय गरिएको चराविज्ञ डगौराको भनाइ छ । ‘क्यामेरा, बाइनाकुलर, टेलिस्कोप, जिपिएसको प्रयोग गरी अनुगमनको कार्य गर्छौं’, उहाँले भन्नुभयो,‘यसबाट गुँड के कति छन् भन्ने जानकारी हुन्छ नै गिद्धको सङ्ख्या यकिन गर्ने कार्य पनि हुन्छ ।’
गत वर्षको अनुगमनमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गरी डङ्गर, सानो खैरो, सेतो, हाडखोर, हिमाली र सुन गिद्धका गरी एक सय ४३ गुँड फेला परेका थिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले डङ्गर, सानो खैरो र सुन गिद्धलाई अति सङ्कटापन्न तथा सेतो गिद्धलाई सङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ । विश्वमा २३ प्रजाति र नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् ।
गिद्धले आफैँले सिकार नगरी मरेका जनावरको सिनो मात्रै खाने भएकाले यसलाई अहिंसक मांसाहारी पन्छीका रुपमा लिइने गरिन्छ । सिनो खाने भएकाले यसले पर्यावरण सन्तुलित राख्नमा मद्दत पुर्याउने गर्दछ । एक सर्भेक्षणअनुसार गिद्धले सिनोको खोजीमा दैनिक एक सय किलोमिटरको रेडियसको दूरीमा उड्ने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्