जनता टाइम्स

२१ मंसिर २०८१, शुक्रबार ०८:१८

कुलमानप्रति अर्थमन्त्री आक्रोशित : ट्रंकलाइन समस्या समाधान नगरे सरकारले हस्तक्षेप गर्छ


रुपन्देही, मंसिर २१ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखिको ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैंले खोज्नुपर्ने बताउनु भएको छ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ केन्द्रीय सभाको बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अब ट्रंकलाइनको समस्या लम्बिन नहुने बताउँदै प्राधिकरणले समस्या समाधानका लागि चासो नदेखाए सरकारले समाधान गर्ने बताउनु भया ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका कुलमान घिसिङप्रति लक्षित गर्दै उहाँले सरकारलाई नटेर्नेहरुलाई हेरेर मात्रै नबस्ने चेतावनी दिनुभयो ।
‘सरकारलाई नटेर्ने, चुनौती दिने प्रवृत्ति राम्रो होइन, यसको प्राधिकरण नेतृत्वले सोच्नुपर्दछ, मन्त्रिपरिषदले नै प्राधिकरणलाई लिकमा ल्याउनुपर्ने छ, यसमा सरकार गम्भीर छ, प्राधिकरणले यो समयमा समाधान नगरे हस्तक्षेप गर्नेछ’, उहाँले भन्नुभयो, ‘सरकारले चासो मात्र व्यक्त गरेको छैन, सरकारले समाधान गर्छ ढुक्क हुनुस।’

अर्थमन्त्री पौडेलले उद्योगहरुले विद्युत प्रयोग गरेको रकम तिर्नुपर्ने र त्यसका लागि प्राधिकरणले समयमै बिल उपलब्ध गराउनुपर्ने बताएका हुन । अर्थमन्त्री पौडेलले प्राधिकरणको उच्च तहले सरकारको गतिमा हिंड्न आनाकानी गरेको समेत संकेत गरे। उहाँले यही विषयमा अल्झिन नहुने भन्दै उर्जा क्षेत्रमा नेपालले फड्को मारिसकेको अवस्थामा प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गरी विश्वसनीय र भरोसायोग्य संस्था बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्राधिकरण आफै सबल र सक्षम नहुँदासम्म त्यहाँभित्र काम गर्ने कर्मचारीहरुलाई सक्षम बनाउन नसकिने बताउँदै पौडेलले सरकारले राष्ट्रसेवक कर्मचारी तथा नागरिकको हित हुने गरी काम गर्दै आएको बताउनु भयो । एमाले उपाध्यक्षसमेत रहेका पौडेलले कर्मचारीको सेवा सुविधा र रोकिएको बीमा लगायतका विषयमा सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेवेले युनियनले कर्मचारी सदस्यहरुको हित र सुरक्षामा काम गर्दै आएको बताए । उनले प्राधिकरणका उच्चतहका नेतृत्वबाट सहिसमयमा सहिकाम नहुँदा कर्मचारीहरुले पीडा खेप्नुपरेको बताउनु भयो ।

सभामा भाग दिन देशभरबाट प्रतिनिधि स्वयसेवक गरी एक हजारको सहभागिता रहेको प्राधिकरण युनियनले जनाएको छ ।