हेटौंडा, मंसिर २१ । हेटौंडा उपमहानगरपालिका–५ भैरव रोडमा अवस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय जिन्सी शाखाबाट करिब ७ करोड रुपैयाँबराबरको सामान हराएको छ ।
बुझबुझारथका क्रममा सामान हराएको थाहा भएको हो ।हेटौंडाको जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको घटना सार्वजनिक भएको हो ।
एक दशकभन्दा लामो समय कार्कीले जिन्सी शाखाको प्रमुख भएर काम गर्नुभएको थियो । जिन्सी शाखाबाट उनलाई हटाएर रमेश पराजुलीलाई प्रमुख बनाएपछि सामान बुझबुझारथ गर्ने क्रममा अभिलेखमा सामान देखिने तर यथार्थमा सामान नभेटिएपछि १८ महिनाअघि नेपाल विद्युत् प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।
उक्त छानबिन समितिसमक्ष तत्कालीन प्रमुख कार्कीले ‘सामान अन्यत्र क्षेत्रमा पठाएको तर त्यसको कागजपत्र नआएकाले हराएको देखिएको’ बताउनु भयो ।
‘कागजपत्र र सामान सहीसलामत देखाउँछु’ भनेर थप समय माग गरे । छानबिन समितिले समय दियो तर कार्कीले सामान देखाउन सकेनन। उक्त समितिले प्राधिकरणलाई ठोस सुझाव दिन नसकेका कारणले विद्युत् प्राधिकरणले वाग्मती प्रदेश विद्युत् प्राधिकरण कार्यालय प्रमुख नवराज ओझा संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले स्थलगत अध्ययन अनुसन्धानको साथै बुद्धकुमार कार्कीसँग बयान लिएर २ साताअघि प्राधिकरणलाई प्रतिवेदन वुझाएको छ ।
उक्त प्रतिवेदनमा दुई किसिमका इन्सुलेटर, पीसीभी केबललगायतका ७ करोड रुपैयाँबराबरको सामान हराएको छ । उक्त सामान वा त्यो बराबरको मूल्य तत्कालीन जिन्सी शाखाका प्रम्खु कार्कीबाट असुल उपर गराउन समितिले प्राधिकरणलाई रायसहित प्रतिवेदन बुझाएको छ ।
विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापर्बाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीय स्तरमा छानबिन समिति गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्