जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १९:२९

योजना कार्यान्वयनमा चासो दिन स्थानीय तहलाई मुख्यमन्त्री पोखरेलको सुझाव


नेपालगञ्ज, कात्तिक ५ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहका योजना कार्यान्वयनमा जनप्रतिनिधिले चासो दिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योजना समयमै सम्पन्न हुन नसके त्यसको प्रत्यक्ष असर जनता र स्थानीय तहलाई पर्ने उल्लेख गर्नुभयो ।

‘हाम्रा जनप्रतिनिधिमा योजना पार्नमा दौडधूप गरेर जोड दिने तर कार्यान्वयनमा बेवास्ता गर्ने समस्या देखिएको छ, योजना पार्नमा जस्तै कार्यान्वयनमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले योजना कार्यान्वयन प्रक्रिया प्रभावकारी नभई रकम खर्च नभएर फिर्ता जानु जनता र स्थानीय तहका लागि प्रत्यक्षरुपमा घाटा हुने र विकास कार्य पछाडि पर्ने भएकाले जनप्रतिनिधिले यस विषयमा अग्रसरता देखाउनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले अघि सारेको समृद्धिको यात्राले लक्ष्य उन्मुख रहेको बताउनुभएको छ । ‘प्रदेश ५ ले कूल गार्हस्थ उत्पादनको ७ दशमलव ७ प्रतिशत वृद्धिदर हासिल गर्न सक्नु समृद्धिको यात्रातर्फ उन्मुख हुनु हो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘जनतामा निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन ।’

संविधान निर्माणपूर्व नेपालको कूल गार्हस्थ उत्पादन ४ प्रतिशत रहेको र सङ्घीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्धिको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले बाँके जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधि स्थानीय तहका प्रमुख र अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्थानीय तह सञ्चालन, व्यवस्थापन र जनपक्षीय कार्यशैलीका बारेमा प्रशिक्षण दिएको नेकपा बाँकेका सचिव अशोक कोइरालाले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलले बुधबार बाँकेको खजुरा गाउँपालिकाले आयोजना गरेको बृहत् खजुरा सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।