जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार २०:४७

एनआरएनए अमेरिका निर्वाचन : टेक्ससबाट उत्साहित बन्यो सञ्जय थापा नेतृत्वको टीम


टेक्सस, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन तिथि नजिकिएसँगै चुनावी माहोल ह्वात्तै तातेको छ । आगामी मे १८ र १९ मा हुने एनआरएनए अमेरिकाको निर्वाचन आफ्नो पक्षमा पार्न सवै उम्मेदवारहरु चुनावी अभियानसहित मतदाता भेटघाट र आवश्यक रणनीति तयारीमा लागेका छन ।

चुनावकै सन्दर्भमा नेपाल अमेरिका पत्रकार संघ ( नेजा) ले टेक्ससको डालसमा आयोजना गरेको नेजा एनआरएन बहशले चुनावी माहोल झनै तताएको छ । अध्यक्षका प्रत्यासीहरु सञ्जय थापा, सूर्य लम्साल र सुनील साहसहित उम्मेदवारहरुलाई एकै मञ्चमा राखेर बहश गरेसँगै तीनै जना उम्मेदवार आफ्नो चुनाव जित्ने रणनीतिमा लागेका छन ।

डालसमा साहबिरुद्ध नारा लागेपछि अर्का दुई उम्मेदवार एकाएक बलियो बनेर मैदानमा देखिएका छन । एनआरएनए अमेरिकाको बर्तमान नेतृत्वको साथ पाएका साहबिरुद्ध एनआरएनए सिण्डिकेट मुर्दावादको नारा लागेपछि अमेरिकाभर साहबिरोधी माहोल बन्ने अवस्था पुगेको एनआरएन अभियन्ताको बुझाइ रहेको छ ।

डालस बहशपछि टेक्ससमै अध्यक्षका प्रत्यासी सञ्जय थापालाई जिताउन अभियान सुरु भएको छ । बहशपछि थापा समुहले अवको रणनीतिसहित आफ्नो मुद्दालाई शसक्त बनाएर अघि बढने निश्कर्ष निकालेको प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाकाका अध्यक्ष प्रभु थापाले बताउनु भयो । उहाँका अनुसार टेक्ससमा थापाको टीम जिताउने अभियानमा धेरै एनआरएनए अमेरिकाका अगुवा तथा समाजसेवीहरु लागेका छन ।

‘टेक्ससको डालसमा भएको बहश र सञ्जय थापा नेतृत्वको टीमलाई धेरै अगुवाहरुको साथ पाइएको छ, बहशमा सञ्जय थापाले जसरी एनआरएनए सुधारका लागि आफ्ना धाराणाहरू राख्नुभयो, बहश र भेटघाटले समग्रमा उहाँको टीमको विजय सुनिश्चितता देखियो,’ ओएनएफ अमेरिकाका अध्यक्ष थापाले भन्नुभयो । उहाँका अनुसार पछिल्लो समय एनआरएनएको बतृमान नेतृत्वले अघि सारेको उम्मेदवारबिरुद्ध मतदाता उभिने क्रम जारी रहेको छ ।