दोलखा, कात्तिक ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताउनुभएको छ । रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताउनुभयो ।
हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पुर्याउने सरकारको उद्देश्य रहेको बताउनुहुँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महीनामा नै सम्पन्न गरी ५९ ठाउँमा विस्तार भइसकेको र छिटै ५०० ठाउँमा विस्तार गरिनेछ भन्नुभयो । नेकपाले निर्वाचन घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उहाँले नेपालमा रेल सञ्चालन हुने कुरा अब असम्भव नभएको बताउनुभयो ।
मन्त्री बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ ।’’ व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम हेडलाइनकारितातिर लागेको उल्लेख गर्नुहुँदै उहाँले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले पर्यटन र ऊर्जा दोलखाको सम्पत्ति भएको र यसबाट जिल्लाको विकास गर्न सकिनेछ भन्नुभयो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पार्टी एकताको भावनालाई विभाजित गर्न र आफ्नो राजनीति सिध्याउने उद्देश्यले पुरानो राजनीतिक मुद्दा ब्युँताउन खोजिएको बताउनुभयो । कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेशसभा सदस्य पशुपति चौलागाँई, रचना खड्कालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
मन्त्री बाँस्कोटाद्वारा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्थलगत अवलोकन गर्नुभयो । मन्त्री बाँस्कोटाले दोलखाको बिगु गाउँपालिकास्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको आज निरीक्षण गर्नुभएको हो ।
सो अवसरमा मन्त्री बाँस्कोटाले आयोजनाको प्रगति, सम्पन्न हुने मिति, लागतलगायतको विषयमा जानकारी लिनुभएको थियो । अवलोकनपश्चात् मन्त्री बाँस्कोटाले समयमा नै काम सम्पन्न गर्नका लागि निर्देशन दिनुभयो । निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हालसम्मको अवस्थाका बारेमा आयोजनाका उपप्रबन्धक विमल गुरुङले जानकारी गराउनुभएको थियो ।
मन्त्रीसहित दोलखा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, पूर्वमन्त्री आनन्द पोखरेल, नेकपाका नेता तथा प्रदेश नं ३ का सदस्य पशुपति पशुपति चौलागाँईलगायतको टोली आज बिहान लामाबगर पुगेको थियो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा नेपाल टेलिकमले सात अर्ब रुपैयाँ लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्