नवलपरासी, पुस १ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक एक लाख ५० हजार रुपैयाँ बचत गर्दै आएका छन।
गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गर्नुभएको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत गर्नुभएको हो । विसं २०७४ मा पौडेलले रु १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याउनुभएको थियो ।
पाँच गाईबाट व्यावसायिक पशुपालन सुरु गर्नुभएको पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ । फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेका जानकारी दिनुभयो ।
उहाँले दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आएको बताउनुभयो । ‘साँझ र बिहान गरी दैनिक एक सय ५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु,’ उहाँले भन्नुभयो, ‘पशुपालन व्यवसायबाट अहिले मासिकरुपमा रु एक लाख ५० हजार बचत हुने गरेको छ ।’ फार्ममा उत्पादन भएको दूधसँगै गोबर मलसमेत बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
आफूले उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै पौडेलले गाईको दूध रु ७५ र भैँसीको दूध रु १०० मा बिक्री हुँदै आएको बताउनुभयो । पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला समेत लगाउने गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्