जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ०९:१७

बम विस्फोट नभएको बताउने आलाम पक्षधरले नै दिए मुद्दा फिर्ता लिन प्रलोभन


रौतहट, कात्तिक ६

मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ । श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ । ‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमको प्रलोभन आइरहेको छ’, उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैले खसीबाख्रा पालेको थिएँ र ? छोरो जन्माएर पालेको थिएँ हजुर।’

आलम छुटेर आए आफू र परिवारका सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ । ‘उनलाई जमानत मिल्नु हुँदैन। उनी पक्षधरले हामीलाई मिल्न भनिरहेको छ’, उनले भने, ‘मुद्दा फिर्ता ली नत्र तेरो म्याद छठसम्म मात्र छ भन्छन् । मैले यो कुरा प्रहरीलाई भनेको छु।’ उनको परिवारको सुरक्षा गर्न जिल्ला प्रहरीले असइको कमान्डमा टोली खटाएको छ। प्रहरीले चौबीसै घण्टा घर र गाउँमा पहरा दिइरहेको छ। ‘मेरो एक मात्र अनुरोध छ, यस्तो जघन्य अपराध गर्नेलाई छोड्नु हुँदैन’, उनले भने, ‘कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

यमुनामाई–४ सरुअठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह र २४ वर्षीय ओसी अख्तर (बम विस्फोटका घाइते)लाई इँट्टाभट्टामा जलाएर मारेको अभियोग आलमविरुद्ध लागेको छ। प्रहरीले २६ असोजमा तत्कालीन सांसद आलमलाई पक्राउ गरेको थियो। जिल्ला अदालत गौरबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

त्रिलोकप्रतापका बुवा श्रीनारायण र ओसीकी आमा रुक्सना खातुनले आलमविरुद्ध २०६५ वैशाख ९ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसमा आलमका भाइ मो. महताब आलमसहित मोबिन आलम, शेख भदई र शेख सवेजको पनि नाम परेको थियो । उनीहरू फरार छन् । रुक्सनाकोे २०६७ माघ १० मा हत्या भएको थियो । माइतबाट फर्किंदै गर्दा गाउँनजिकै उखुबारीमा कञ्चटमा गोली हानेको अवस्थामा उनी मृत भेटिएकी थिइन् । बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका घाइते तथा प्रत्यक्षदर्शी भनिएकाहरूको बयानका आधारमा कर्तव्य ज्यान मुद्दामा आलमविरुद्ध अनुसन्धान भइरहेको रौतहटका एसपी भूपेन्द्र खत्रीले बताए । आलमले भने आफूलाई झुटो मुद्दामा फसाइएको जिकिर गर्दै आएका छन् ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन (२७ चैत २०६४ गते साँझ) राजपुर फरदवामा बम विस्फोट भएको थियो। बुथ कब्जा गर्ने प्रयोजनका लागि ल्याइएका बम विस्फोट भएको र त्यसमा करिब २४ जना घाइते भएको दाबी गरिएको छ । आलमले घटना लुकाउन मृतक मात्र होइन, घाइतेलाई गाउँनजिकै इँटाभट्टामा जलाएको पीडित पक्षको आरोप छ । त्यसविरुद्ध साबिक सरुअठा गाविसका सिंह र खातुन मात्रै प्रहरीमा पुगेका थिए । अन्यको हकमा अनुसन्धानै भएको छैन । विस्फोटबाट क्षति पुगेको घर राति नै मर्मत गरिएको जनाइएको छ । इँटाभट्टा घटनाको केही वर्षपछि बन्द भएको थियो । (अन्नपूर्ण)