काठमाडौं, पुस १ । सहकारी ठगी प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमवार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेबिरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रहरीले सहकारी ठगी प्रकरणमा प्राप्त तथ्यलाई केलाउँदै लामिछानेबिरुद्ध तीन वटा मुद्दा चलाउन सिफारिश गरेको छ ।
प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको छ । कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्नता पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको हो ।
प्रहरीले प्रतिवेदनमा लामिछाने सहकारी ठगीमा संलग्न रहेको पुष्टि हुने पर्याप्त आधारहरू भेटिएको निश्कर्ष निकालेको छ । प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका रुपमा प्रहरीले उल्लेख गरेको छ । गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि चेकको प्रतिलिपि देखाएरै रबिलाई सोधपुछ गरिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धान थप चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो । सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर गाडी खरिद गर्न ४६÷४६ लाख रुपैयाँ ऋण प्रवाह गरिएको तथ्य पनि अनुसन्धानबाट खुलेको थियो ।
समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी (कुमार रम्तेल सचिव रहेको) बाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्