जनता टाइम्स

२ पुष २०८१, मंगलवार ०८:०६

रवि लामिछाने दम्पतीको खातामा अस्वभाविक कारोवार, ८ बर्षमा २९ करोड कारोबार


काठमाडौं, पुस २ । रास्वपाका सभापति रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ भएको पाइएको प्रहरीले दाबी गरेको छ । प्रहरीले रबि दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट सन २०१६ यता २९ करोडको कारोबार भएको तथ्य भेटाएको छ ।

प्रहरीका अनुसार रविको नाममा ३, निकिताका १३ र एक संयुक्त बैंक खाता जाँच गर्दा सो अवधिमा २८ करोड ९१ लाख रुपैयाँ जम्मा गरिएको र २९ करोड ७ लाख झिकिएको विवरण अनुसन्धान प्रतिवेदनमा छ ।

सबैभन्दा धेरै कारोबार लामिछानेका नाममा ग्लोबल आईएमई बैंकमा रहेको बैंक खाताबाट गरिएको छ । उक्त ३०–७०१०००–––३ नम्बरको खातामा सन २०१६ डिसेम्बर ११ देखि २०२४ अक्टोबर १६ सम्म ८ करोड २६ लाख जम्मा गरिएको छ भने लगभग सबै रकम झिकिएको छ । त्यस्तै, लामिछाने र पौडेलका नाममा नेपाल बैंकमा रहेको ०६–४००१०––– –––०००–०१ नम्बरको संयुक्त खातामा ४ करोड १३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निकिताको सिद्धार्थ बैंकमा रहेको ०२–४१५–––––१ नम्बरको खातामा चार वर्षमा ६ करोड ५७ लाख कारोबार भएको छ । यो कारोबार २०१८ सेप्टेम्बर १३ देखि २०२२ सेप्टेम्बर १ सम्मको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा निकिताका नाममा एउटा डलर खातासहित कुल तीन खाता रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । खाता नम्बर १०–१०१ ––– –––१ मा सन् २०१६ सेप्टेम्बर २६ देखि २०२४ जुलाई १५ सम्म तीन करोड ७७ लाखको कारोबार भएको पाइएको छ ।

सोही बैंकको अर्को खाता २०–––३९०–––१–४९ मा २०२३ मे १४ देखि २०२४ नोभेम्बर २५ सम्म १ करोड ५ लाखको कारोबार भएको छ । उनकै ग्लोबल आईएमईको खाता नम्बर १३–५० –––००–––२६ मा २ करोड २९ लाख र नेपाल बैंक लिमिटेडको खातामा २ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ ।