जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार १०:२२

धनकुटाका फुल कृषकले बेचे लाखौंको सयपत्री


धनकुटा, कात्तिक ६

फुलहरुको चाड तिहार नजिकिदै गर्दा धनकुटामा अहिले फुलका कृषकहरुलाई भ्याईनभ्याई रहेको छ । बारीमा लगाएका फुल बेच्न उनिहरु लागिरहेका छन् । विभिन्न ग्रामिण क्षेत्रमा सयपत्री फूल बिक्रिबाट कृषकले मनग्य आम्दानी हात पारेका छन् ।

धनकुटा नगरपालिकाको खासगरी ३, ४ र ५ वडामा वैकल्पिक रुपमा व्यवसायिक फूल खेती हुँदै आएको छ । धनकुटामा हालसम्म ५० लाख बढिको फूल बिक्रि भइसकेको स्थानीय कृषकले बताएका छन् । धनकुटा ३ को निगाले, सिप्तिङ, सेउले, कागते लगायतका गाउँमा तिहार नजिकिएसँगै यतिबेला फूल खरिद गर्न कृषकको बारीमा खरिदेको तछाडमछाड नै चलेको छ ।

सयपत्री बिक्रि गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको छ । तर, खरिदेले कृषकबाट दोब्बर गुना नाफा गर्दै आएका छन् । पछिल्लो समय कतिपय कृषक स्वयम् पनि धनकुटा, धरान, इटहरी लगायतका बजारमा आफ्नै पहलमा ढुवानी गरेर बिक्रि थालेका छन् । स्थानीय कृषकले न्यूनतम ५० हजार देखि २ लाखसम्म आम्दानी गरिरहेका छन् ।