काठमाडौं, पुस ४ । मंसिर महिनामा घरजग्गा कारोबार ह्वात्तै बढेको छ । गत वर्ष मंसिर र यस वर्ष कात्तिकको तुलनामा घरजग्गाको कारोबारमा वृद्धि भएको हो ।
गत वर्षको मंसिरमा ४१ हजार ८ सय ५१ वटा घरजग्गाको कारोबार भई लिखत पारित भएकोमा यस कर्षको मंसिरमा ४३ हजार ३ सय ७९ वटा लिखत पारित भएको छ । चालू आर्थिक वर्ष २०८१–८२ को कात्तिकमा देशभर ३३ हजार ५ सयको संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो । साउन, भदौ, असोज र कात्तिकमा भएको कारोबारका आधारमा मंसिरमा कारोबार बढेको हो ।
असोजमा देशभर ३० हजार ५ सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो । भदौमा देशभर ३२ हजार ७ सय संख्यामा घरजग्गा कारोबार भएको थियो । साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ । घरजग्गा कारोबारबाट मंसिरमा मात्रै ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजस्व उठेको छ । यसअघि साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो ।
गत आवको तुलनामा चालू आवको मंसिरमा घरजग्गा कारोबारको लिखत पारितसँगै राजस्वमा केही सुधार देखिएको छ । गत कात्तिकमा घरजग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँबराबरको राजस्व संकलन भएकामा मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ रुपैयाँबराबर संकलन भएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ । गत कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो ।
विभागका अनुसार मंसिरमा सबैभदा बढी राजस्व चितवन मालपोतबाट उठेको छ । चितवनबाट ३५ करोड ९८ लाख ३१ हजार रुपैयाँ उठेको हो । यस्तै ललितपुरको लगनखेल मालपोत कार्यालयले ३३ करोड ९५ लाख २ हजार ८ सय ७३ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ भने काठमाडौंको कलंकी मालपोत कार्यालयले २६ करोड ५७ लाख २५ हजार ४ सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । यसपछि बढी राजस्व संकलन गर्नेमा भक्तपुर मालपोत रहेको छ ।
भक्तपुरबाट २२ करोड ५८ लाख २३ हजार रुपैयाँ उठेको छ । डिल्लीबजार मालपोतले भने १९ करोड ९६ लाख रुपैयाँ उठाएको छ । साँखुले ७ करोड ५० लाख २२ हजार ६ सय २९, मनमैजुले ७ करोड २६ लाख ३४ हजार २ सय ३३, टोखाले ७ करोड १२ लाख ४५ हजार ७ सय ६५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । यस्तै कास्की मालपोतले भने १३ करोड ५९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
बिभागका अनुसार मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३ सय ९१ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । यस्तै मंसिरमा सेवा कर २६ करोड ६ लाख २५ हजार ६ सय ९० रुपैयाँ उठेको छ । रजिस्ट्रेसन दस्तुर २ अर्ब ६३ करोड ७८ लाख १२ हजार ३ सय ४० रुपैयाँबराबर संकलन भएको छ । यसैगरी, घरजग्गा कारोवारबाट १ अर्ब ३१ करोड ६३ लाख ४३ हजार ७ सय १४ रुपैयाँबराबरको पुँजीगत लाभकर संकलन भएको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागले मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको जनाएको छ । यो कारोबार कात्तिकको तुलनामा २९ दशमलव ४३ प्रतिशतले बढी हो । गत कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । बिभागका अनुसार गत आव २०८०–८१ को मंसिर महिनाको तुलनामा पनि यस वर्ष मंसिरमा ३ दशमलव ६५ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिएका छ । गत वर्ष मंसिरमा देशभर ४१ हजार ८ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको थियो ।
विभागका अनुसार सबैभन्दा बढी लिखत पारित इनरुवा सुनसरीमा भएको छ । त्यहाँ एक महिनामा १ हजार ५ सय ५३ वटा लिखत पारित भएको थियो । यस्तै मोरङमा १ हजार ४ सय ४२ वटा लिखत पास भएको छ । भद्रपुर झापाको मालपोत कार्यालयबाट १ हजार ३ सय ९८, कैलालीमा १ हजार २ सय २८ र धनुषामा १ हजार १ सय ३७ वटा कारोबार भएको छ । त्यसपछि बढी लिखत पारित भएका मालपोत कार्यालयमा राजविराज, मलंगवा, नेपालगन्ज, भक्तपुर र कोहलपुर रहेका छन ।
प्रतिक्रिया दिनुहोस्