काठमाडौं, पुस ७ । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ।
नागढुङ्गा-मुग्लिन सडक आयोजनाले स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द गरिने जानकारी दिएको छ ।
आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ। सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ।
नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ।
यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ भने विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिने आयोजनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्