जनता टाइम्स

७ पुष २०८१, आईतवार १९:०२

दाङको टरिगाउँ विमानस्थल बिस्तार गर्न कस्सिए एमाले–कांग्रेसका नेता, मन्त्रीलाई बुझाइयो डीपीआरको बिस्तृत प्रतिवेदन


काठमाडौं, पुस ७ । दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई विस्तार गर्ने गरी प्रक्रिया अघि बढाउन एमाले कांग्रेसका नेताहरुले अग्रसरता लिएका छन् ।

आइतबार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पूर्व सिँचाई मन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका नेता दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेयलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गर्नुभएको छ ।

सो भेटमा उहाँहरुले विमानस्थलको धावन मार्ग विस्तारका लागि लाग्ने बजेट, आवश्यक जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्नुभएको थियो । नेताहरुले मन्त्रीलाई डिपिआरको विस्तृत रिपोर्ट पनि पेश गर्नुभएको छ । नेताहरूको छलफलपछि मन्त्री पाण्डेयले विमानस्थल विस्तारका लागि आवश्यक बजेट विनियोजनको प्रक्रिया अगाडि बढाइने आश्वासन दिनुभएको छ ।

एमाले महासचिव पोखरेलले दाङको विकासका लागि विमानस्थल अपरिहार्य भएको उल्लेख गर्दै टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार तत्काल गर्नुपर्ने धारणा व्यक्त गर्दै दाङको विकासका लागि यहाँ रहेका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, अन्य सरोकारवाला निकाय एवं आम सर्वसाधारण बीच साझा धारणा हुनुपर्ने बताउनु भयो ।

छलफलमा मन्त्रालयका सचिव, प्राधिकरणका डिजी, मन्त्रालयका योजना प्रमुखलगायतको सहभागिता रहेको थियो ।