पोखरियामा नापी तथा मालपोतको क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय ।
पर्सा, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम भूमि व्यवस्था , सहकारी तथा गरिबी मन्त्रालयको प्रस्तावमा पर्साको पोखरीया नगरपालिकामा नापी तथा मालपोतको क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पर्सा जिल्लामा जनसंख्याको चाप, सेवाको अवस्था दुरी र समय लगायतका विषयलाई विश्लेषण गर्दै सेवा प्रवाहलाई छिटो-छरितो, प्रभावकारी र नागरिक मैत्री बनाई समयमै सेवा उपलब्ध गराउन उद्देश्यको साथ पोखरीया नगरपालिकामा तत्कालको लागी मालपोत तथा नापी कार्यालय स्थापना गरि सेवा संचालन गर्ने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको विशेष पहलमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकमा पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालयको क्षेत्रीय कार्यालय स्थापना गर्न प्रस्ताव पेस गरेका थिए ।
यो महत्वपूर्ण कदमले पोखरिया लगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने विश्वास रहेको मन्त्री गुप्ताले बताउनु भएको छ ।
प्रस्तावमाथि मन्त्रिपरिषद् बैठकले छिट्टै निर्णय गर्दै कार्यालय सञ्चालनमा ल्याउने अपेक्षा रहेको उहाँले जानकारी गराउनुभयो ।
यस ऐतिहासिक निर्णयको लागि मन्त्री गुप्ताले प्रधानमन्त्री ओली, मन्त्री अधिकारीलगायत यो कार्यमा सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै सम्पूर्ण पर्सावासीको तर्फबाट यो प्रयासलाई स्वागत गरेको बताउनु भयो ।
समृद्धि र सेवा प्रवाहका लागि यो महत्वपूर्ण पहललाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको मन्त्री गुप्ताले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्