जनता टाइम्स

१० पुष २०८१, बुधबार ०४:०४

रबि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको ठगीमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ


पोखरा, पुस १०। रास्वपाका सभापति रबि लामिछाने संलग्न रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

एमाले नेता गुरुङलाई मंगलवार कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुनुहुन्छ।

उहाँ स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध रहनुभएको थियो ।जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको पनि नाम छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले गुरुङलाई पक्राउ गरी हिरासतमा लिइएको बताउनु भयो । आवश्यक कारबाही प्रक्रियाका लागि उहाँलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्‍यक्ति र संस्था गरी ६३ जनाविरूद्ध  कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोही प्रकरणमा एमाले नेत्री गुरुङलाई पक्राउ गरिएको हो ।