जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार २०:४८

लक्ष्यभन्दा नौ महिनाअगावै बन्यो पुल, यी हुन सम्मानयोग्य ठेकेदार


बर्दिया, कात्तिक ६ । बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारा र पूर्वपश्चिम राजमार्ग जोड्ने सडकखण्डमा रहेको ओराही खोलामा पुल निर्माण कार्य पुरा भएको छ । २०७४ सालमा सुरु भएको पुल लक्ष्य भन्दा नौ महिना अघि नै निर्माण सम्पन्न भएको हो ।

पुलले ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय जोड्ने छ । ठाकुरबाबा वडा नं ६ देखि ९ साथै मधुवन नगरपालिकाको वडा नं १ जोड्ने पुल बुधबारबाट सञ्चालनमा आएको हो । एक सय ७० मिटर लामो पुल ९ करोड ९६ लाख रुपैयाँको लागतमा २०७४ सालदेखि निर्माण सुरु भएको थियो । पुल निर्माण सक्ने समयावधी अझै ९ महिना रहेको छ ।

मिति भन्दा अगावै पुल निर्माण भएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेले मेनका निर्माण सेवाका प्रोप्राईटर तिलक राम लम्साललाई सम्मान गरेको छ । अन्य निर्माण व्यवसायीलाई पनि प्रात्साहन होस् भनेर निर्माण व्यववसायीलाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनु भयो ।

ठेक्का सम्पन्न भएर कार्यादेश पाउँदा समेत समयमा वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन नआउँदा निर्माण सम्पन्न गर्न अझै ढिलाई भएको निर्माण व्यवसायी तिलक लम्सालको भनाई छ । वर्षातको समयमा ओराही खोला बढेर घण्टौँसम्म यातायात अवरुद्ध हुने गरेको थियो । कतिपय सवारी साधनहरु आवत जावतको क्रममा बग्ने गरेका थिए ।

ओराही खोलामा पुल नभएको कारण बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकमा समेत नराम्रो असर परेको थियो । पुल बनेपछि पर्यटकहरुलाई आवत जावत गर्न सहज हुने बताउँदै पुलले पर्यटन व्यवसायमा पनि सहयोग पुर्याउने छ । पछिल्लो समय सरकारले चाँडो काम गर्ने निर्माण ब्इवसायीलाई प्रोत्साहित र नगर्नैमाथि कार्वाहीको कडा नीति अख्तियार गरेको थियो ।