जनता टाइम्स

१५ पुष २०८१, सोमबार ०८:५२

कांग्रेस नेता बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा


काठमाडौं, पुस १५ । नेपाली कांग्रेसका नेता तथा काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।

घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मेयर बस्नेतबिरुद्ध मुद्दा दायर गरेको हो ।

घरजग्गा कारोबारका क्रममा मेयर बस्नेतले कँडेलबाट घूस लिएको अनुसन्धानबाट खुलेपछि अदालतमा मुद्दा चलाइएको अख्तियारले जनाएको छ । सार्वजनिक पदको दुरुपयोग गरी बस्नेतले कँडेलबाट लिएको घूसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको खुलेको विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ । बस्नेत २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी हुनुभएको थियो । कँडेल भने पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक हुन ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मेयर बस्नेतविरुद्ध घूस प्रकरणमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो कायम गरी ८ वर्षदेखि १० वर्षसम्म कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ । घूस प्रकरणमै ‘लाभ प्राप्त गर्ने प्रकृतिको मतियार’ भएको कसुरमा मेयर बस्नेतलाई सरह नै उनकी पत्नी उर्मिला बस्नेतलाई पनि सजाय गर्नुपर्ने अख्तियारको मागदाबी छ ।घरजग्गा कारोबारी कँडेललाई पनि अख्तियारले घुसबापतको रकम ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँलाई बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।

व्यापारी कँडेलबाट लिएको घूस शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेर मुद्दा दायर गरेको छ । शुद्धीकरण गरेको सम्पत्तिबाट बढे–बढाइएको सम्पत्ति जफत गर्न र पदमा रहेर कसुर गरेकामा थप सजायको पनि मागदाबी गरिएको छ । मेयर बस्नेतकी पत्नी उर्मिलाविरुद्ध भने मेयर बस्नेतविरुद्ध मागदाबी गरिएको बिगो नै कायम गरी कैद र जरिवानाको हकमा मुख्य कसुरदारलाई हुने सजायको आधा मागदाबी गरिएको छ । घूस खुवाउने व्यापारी कँडेलविरुद्ध सम्पत्ति शुद्धीकरण गर्न दुरुत्साहन, मद्दत, सहजीकरणसमेत गरेकामा मतियार कायम गरी बिगो, कैद र जरिवाना मागदाबी गरी मुद्दा दायर भएको हो ।

‘मोहनबहादुर बस्नेतले नगर प्रमुखको पद दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घर÷जग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष राजुप्रसाद कँडेलबाट घूस÷रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको/दिन लगाएको, प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिए÷दिन लगाएको’ अख्तियारको आरोपपत्रमा भनिएको छ ।

यस्तै, ‘प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जग्गा प्रतिवादी राजुप्रसाद कँडेल तथा निजका कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गरे÷गराएकामा सोही सम्झौतासमेत कार्यान्वयन गर्न, गराउन भुलभुलैयामा पारी जग्गाधनीसँग सम्झौता गरी÷गराई मन्दिर निर्माणका लागि भनी लिएर जग्गा प्लटिङमा बिक्री गर्ने काममा संलग्न रहेको’ अख्तियारले जनाएको छ ।

४७ करोड ७५ लाख रुपैयाँ बजार मूल्य पर्ने जग्गाका लागि पद्म कोलोनीले १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ रुपैयाँ मात्रै भुक्तानी दिएको र बाँकी रकम मिलेमतोमा मेयर बस्नेत र व्यापारी कँडेलले व्यवस्थापन गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ । कँडेल टेलिभिजन सञ्चालक पनि हुन ।