जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ०८:३९

नेपालले आयात निर्यात सहज बनाउन बंगलादेशसँग राख्यो जलमार्गको प्रस्ताव


काठमाडौँ, कात्तिक ७

मङ्गलबारदेखि राजधानीमा सुरु भएको नेपाल–बङ्गलादेश व्यापारसम्बन्धी प्राविधिक समितिको बैठकमा नेपालले बङ्गलादेशसम्म जलमार्ग सञ्चालनको सम्भावनामा विषयमा प्रस्ताव अगाडि बढाएको छ । बङ्गलादेशसँग प्रत्यक्ष सम्पर्क बढाउने उपायका रूपमा जलमार्गको विषयलाई समेत नेपालले प्रस्तावमा राखेको हो ।

बङ्गलादेशसँग जलमार्ग सञ्चालनको सम्भावना विषयमा बैठकमा छलफल भएको हो, नेपाली टोलीका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भन्नुभयो । उहाँका अनुसार यसको सम्भावना अध्ययनका सम्बन्धमा बङ्गलादेशले थप प्रस्ताव माग गरेको छ । अध्ययनका विषयमा बङ्गलादेशका तर्फबाट सकारात्मक प्रतिक्रिया आएको छ, उहाँले भन्नुभयो ।

बुधबार सम्पन्न बैठकले विभिन्न पाँचवटा विषयमा प्राविधिक रूपमा टुङ्गो पनि लगाएको छ । बैठकले खासगरी दुई देशबीच कार्गो ढुवानी तथा यात्रु बस सञ्चालनसम्बन्धी विषयमा टुङ्गो लगाएको ढकालले जानकारी दिनुभयो । हामीले बैठकमा विशेषगरी दुई देशको व्यापार र पारवहन विषयमा छलफल गरेका हौँ, उहाँले भन्नुभयो, हाम्रो प्रस्तावमा बङ्गलादेशका तर्फबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।

बैठकले कार्गो र यात्रु बसबाहेक व्यापारिक वस्तुको गुणस्तर तथा विषादीसँग सम्बन्धित विषयमा पनि प्राविधिक रूपमा टुङ्गो लगाएको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको साल्ट टेडिङ कर्पोरेसन र बङ्गलादेशको यस्तै प्रकृतिको निकायबीच व्यापारिक सम्झौता गर्ने विषय पनि टुङ्गो लागेको छ ।

बङ्गलादेश जाने नेपाली विद्यार्थी अथवा नागरिकका लागि भिसासम्बन्धी आइपर्ने समस्या समाधान गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । त्यस्तै फूलबारी–बङ्गलाबन्द मार्गबाट आवतजावत सहजीकरण गर्ने विषयमा पनि गम्भीर छलफल भएको ढकालले जानकारी दिनुभयो । बैठकमा नेपालबाट बङ्गलादेश धागो निर्यात गर्दा भइरहेका समस्या समाधान गर्ने विषयमा पनि सहमति बनेको छ । यसबाहेक नेपाली कृषिजन्य वस्तु तथा तरकारीको निर्यातमा देखिएको समस्या समाधानका उपायका विषयमा पनि छलफल गरेको छ ।

भन्सार शुल्क तथा भन्सार प्रक्रियाका विषयमा समस्या समाधान गर्ने विषयमा नेपालले कुरा उठाएको ढकालले जानकारी दिनुभयो । बैठकमा नेपालका तर्फबाट ढकालको नेतृत्वमा १५ सदस्यीय टोलीको सहभागी रहेको थियो । बङ्गलादेशका तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव सरिफा खानले सात सदस्यीय टोलीको नेतृत्व गर्नुभएको थियो । प्राविधिक समितिको यो चौथो बैठक हो । (गोरखापत्र)