जनता टाइम्स

२० पुष २०८१, शनिबार १३:१८

बैंकको सुरक्षामा देखियो गम्भीर खतरा, सफ्टवेयर बनाउने कम्पनीकै खाताबाट ह्याकरले चोरी गरे साढे ३ करोड


काठमाडौं, पुस २० । सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने ‘एफवान सफ्ट कम्पनी’ को बैङ्क खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको घटनामा २४ जनाविरूद्ध मुद्दा दायर भएको छ ।

एफवान सफ्ट कम्पनीको सिटिजन्स बैङ्कको खातामा रहेको रकम अनलाइन बैङ्किङ प्रणाली ह्याकिङ गरी पैसा चोरी भएको घटनामा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत बिहीबार २४ जनालाई प्रतिवादी बनाएर जिल्ला मुद्दा दायर गरेको छ । प्रतिवादीमध्ये ९ जना प्रहरीको नियन्त्रणमा छन् भने १५ जना फरार छन ।

पक्राउ पर्नेमा ललितपुरका ४० वर्षीय त्रिगुण रत्न बज्राचार्य, सिराहाका २० वर्षीय राहुल ठाकुर, १९ वर्षीय पुरुषोत्तम साह, सप्तरीका २१ वर्षीय कृष्ण रमण राउत र ३१ वर्षीय सञ्जीव कुमार शर्मा रहेका छन । यसैगरी उदयपुरका र उदयपुरका कमल थापा मगर, दीपक थापा मगर, सुनसरीका २४ वर्षीय सन्देश राई र सागरकुमार साहलाई प्रतिवादी बनाइएको छ । उनीहरू अधिकांश १८ देखि २४ वर्ष उमेर समूहका छन ।

एफ–वान इन्टरनेशनल प्रालि कम्पनीबाट कसैको जानकारीबिना गत अक्टोबर १ देखि अक्टोबर ४ सम्म पटक–पटक गरी ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ९० पैसा झिकिएको थियो । सन २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा एफ–वान इन्टरनेशनल प्रालि कम्पनीको खाताबाट विभिन्न व्यक्तिहरूको खातामा पैसा रकमान्तर भएको थियो ।

कर्पोरेट बैङ्किङ प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याएर खाताबाट रकम चोरी भएको घटना सम्भवतः यो पहिलो हो । बैङ्क खाता कसरी ह्याकिङ भयो भन्नेमा प्रहरी, बैङ्क तथा सो कम्पनीका अधिकारीहरु तीन महिनासम्म अन्योलमा देखिएका छन ।