जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १२:२६

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन : विज्ञान प्रविधिको विकासका लागि ‘अनुसन्धान कोष’ स्थापना गर्ने सङ्कल्प


काठमाडौं, कात्तिक ७

विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहभागिता रहने गरी ‘अनुसन्धान तथा नवप्रवर्तन कोष’ स्थापना गर्ने सङ्कल्पसहित १२ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा सकिएको छ । सरकारी, गैरसरकारी, उद्योग, बैंकजस्ता सेवाप्रदायक सङ्घसंस्थाबाट मुनाफाको न्यूनतम एक प्रतिशत आउने गरी कोष स्थापना हुने जनाइएको छ ।

नेपाललगायत विभिन्न देशबाट झण्डै ४०० वैज्ञानिकको सहभागिता रहेको सम्मेलनले राष्ट्रिय आवश्यकताका आधारमा अनुसन्धान उन्मुख प्रणाली स्थापना गरी केन्द्रीकृत संस्थामार्फत अनुसन्धानका गतिविधि अगाडि बढाउने निष्कर्षसमेत निकालेको छ ।

नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनको निष्कर्षबारे जानकारी दिँदै कार्यक्रम संयोजक डा. निरोज पाण्डेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा योगदान पुर्याउने गरी घोषणापत्र पारित गरिएको बताउनुभयो ।

राष्ट्रिय आवश्यकताअनुसार क्षेत्र निर्धारण गरी विषयगत विज्ञ सहभागी एक कार्यदल निर्माण गर्ने, विज्ञान र प्रविधिका क्षेत्रमा अध्यापन, अनुसन्धान गर्ने सङ्घसंस्थाका चुनौतीको पहिचान गरी सुधारका लागि सिफारिस गर्न अर्को कार्यदल निर्माण गर्ने प्रस्ताव पारित गरिएको डा. पाण्डेले जानकरी दिनुभयो ।

सम्मेलनले तत्कालका लागि तीन अर्ब रुपैयाँको लगानीसहित विशिष्ट योजना लागू गर्ने, युवा प्रतिभा प्रवद्र्धन कार्यक्रमानुसार सम्भावनायुक्त प्रस्तावलाई व्यवसायीकरण गर्ने र सार्वजनिक नीति साझेदारी उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने निष्कर्षसमेत निकालेको छ ।

यस्तै अनुसन्धान नवप्रवर्तन सहजीकरण कार्यक्रमसँगै जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अनुसन्धान, विकास र सेवाका लागि विभिन्न क्षेत्रको गुणस्तर मापन गर्न ‘केन्द्रीय मानक प्रयोगशाला’ स्थापना गरिने सम्मेलनले प्रस्ताव पारित गरेको छ ।

संयोजक डा. पाण्डेका अनुसार युवा वैज्ञानिक मञ्च निर्माण गर्ने, राष्ट्रिय नीति, अनुसन्धान र विशिष्टीकृत अनुसन्धान केन्द्र निर्माण गर्ने र समसामयिक वैज्ञानिक शिक्षा कार्यक्रमका साथै विज्ञान वर्ष मनाउन नेपाल सरकारलाई आग्रह गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ । ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने नाराका साथ यही कात्तिक ४ गतेदेखि आयोजना भएको सम्मेलनमा विज्ञान र प्रविधिसम्बन्धी १८ विषयमा ६५ कार्यपत्र प्रस्तुत भएको थियो ।

प्रविधिको प्रयोगविना विकास सम्भव छैन : प्रधानमन्त्री ओली

सम्मेलनको समापन समारोह बुधबार श्रब्यदृष्यमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको प्रयोगविना विकास सम्भव नरहेको बताउनुभएको छ । विकास र उत्पादनमा विज्ञान र प्रविधिको प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राजनीतिक सङ्क्रमणकाल टुङ्ग्याएर संविधान जारी गरी निर्वाचनपश्चात् मुलुक समृद्धिको सपना पूरा गर्नेतर्फ अग्रसर भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोमा अघि बढेकाले अहिले देशविदेशमा रहेका वैज्ञानिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ मुलुक अघि बढिरहेका बेला ज्ञान सीपको आदानप्रदान गरी विज्ञान र प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

‘प्राप्त प्रविधिको हस्तान्तरण र नयाँ प्रविधिको विकास गरेर अघि बढ्नुपर्छ, पूराना मूल्यवान कुराहरुको संरक्षण र नयाँ प्रविधिको विकास आवश्यक छ’, प्रधानमन्त्रीले भन्नुभएको छ । उहाँले समृद्धिको मार्गमा अघि बढेको मुलुकका लागि युवा वैज्ञानिक सम्मेलनको निष्कर्ष उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञान र प्रविधिका क्षेत्रमा अनुसन्धान गर्न अनुदान दिइने : शिक्षामन्त्री पोखरेल

सरकारले विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि अनुदान दिने भएको छ । आज राजधानीमा उक्त सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले अध्ययन अनुसन्धानका लागि अनुदान दिने निर्णय गरेको जानकारी दिनुभयो ।

सम्मेलनबाट बुधबार जारी गरिएको सङ्कल्प प्रस्तावका कतिपय विषय सरकारले नै सम्बोधन गर्नुपर्ने खालका रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले मन्त्रालयले गर्नसक्ने विषयमा कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । ‘दिगो विकास लक्ष्यप्राप्त गर्न प्रविधिको प्रयोग अपरिहार्य छ, सामान्य ढङ्गले हिँडेर पुग्दैन, गति बढाउनुपर्छ’, उहाँले भन्नुभयो ।

विज्ञान र प्रविधिको क्षेत्रलाई प्रशासनिक ढङ्गले सम्बोधन गरेर नहुनेसमेत उहाँले बताउनुभयो । बालबालिका तहदेखि नै अनुसन्धानमूलक शिक्षाको खाँचो रहेको औँल्याउँदै उहाँले विज्ञान नीति बनेको र शिक्षा नीति तयार गरेर मन्त्रिपरिषद्मा छलफल भएकाले टुङ्ग्याउनका लागि आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले देश विदेशमा रहेका वैज्ञानिक एकजुट हुने हो भने विज्ञान र प्रविधिका क्षेत्रमा देशले फड्को मार्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद् नेपालका उपाध्यक्ष माधव ढुङ्गेलले राष्ट्रको विकासका लागि विषयगत विशिष्टीकरणको आवश्यकता रहेको औँल्याउनुभयो ।