जनता टाइम्स

२२ पुष २०८१, सोमबार ०९:१३

५ महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व


काठमाडौं, पुस २२ । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१-८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो ।

एसएसपी अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख रुपैयाँ (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । यस्तै ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी चार करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको उछ । ।

त्यसैगरी स्रोत नखुलेको दुई करोड ९० लाख रुपैयाँ, हुण्डी कारोबार नियन्त्रणबाट एक करोड ८३ लाख अवैध काठ बरामदबाट एक करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट एक करोड १६ लाख रुपैयाँ र अवैध नदीजन्य उत्खननबाट ९२ लाख भन्दा बढी रकम राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिनुभयो ।