जनता टाइम्स

२२ पुष २०८१, सोमबार १४:००

छिट्टै गाजा युद्धविराम हुनेमा ब्लिन्केन ‘विश्वस्त’


सियोल, पुस २२ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो,‘आवश्यक प्रक्रियापछि र अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति पदबाट हटेपछि सम्भवतः जनवरी २० पछि युद्धविराम हुनेछ ।’ गत वर्ष हमास र इजरायलबीच युद्धविरामका लागि पटक–पटक प्रयास गरेपनि असफल भएको स्मरण गर्दै ब्लिन्केनले भन्नुभयो,‘बाइडेन प्रशासनले आफ्नो कार्यकालको अन्त्यसम्म युद्धविराम र बन्दी मुक्त गर्ने काम हरेक दिन हरेक मिनेट गरिनेछ ।’

‘हामी आगामी दुई हप्तामा युद्धविराम सम्झौतालाई निष्कर्षमा ल्याउन चाहन्छौं,’ विदेशमन्त्री ब्लिन्केनले सियोल भ्रमणका क्रममा सञ्चारकर्मीसँग भन्नुभयो । ब्लिन्केनले भन्नुभयो,‘यदि हामीले आगामी दुई हप्तामा फिनिसिङ लाइन पार गर्न सकेनौं भने पनि मलाई विश्वास छ यो कुनै बिन्दुमा छिट्टै पूरा हुनेछ ।’ ‘सम्झौता राष्ट्रपति बाइडनले अघि सारेको योजनाको आधारमा हुनेछ र लगभग सम्पूर्ण विश्वले समर्थन गर्नेछ,’ उहाँले भन्नुभयो ।

जनवरी २० मा कार्यभार सम्हाल्ने तयारीमा रहनुभएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई अझ बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा समातिएका बन्धकहरूलाई मुक्त नगरे हमासले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिनुभएको छ । हमासका एक अधिकारीले आइतबार इजरायलसँगको सम्भावित सम्झौताको ‘पहिलो चरण’मा ३४ जना बन्धकलाई मुक्त गर्न समूह तयार रहेको बताउनुभएको छ । ब्लिन्केनले सम्झौतामा पुग्न हमासले आफ्नो तर्फबाट ‘तीव्र चाहना’ गरेको तर त्यो अझै पूरा नभएको बताउनुभएको छ ।

ब्लिन्केनले भन्नुभयो,‘हामीलाई सम्झौतालाई पूरा गर्न र बन्धकहरूको लागि परिस्थितिलाई मौलिक रूपमा परिवर्तन गर्न, उनीहरूलाई मुक्त गर्न, गाजाबासीलाई राहत दिन र समग्र क्षेत्रका लागि राहत महशुस हुने काम गर्न अगाडि बढ्नका लागि अन्तिम निर्णयहरू गर्न आवश्यक छ ।’ सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको भीषण आक्रमण र बदलामा इजरायलले गाजामा चलाएको हमासविराधी कारबाहीसँगै ब्लिन्केनले मध्यपूर्वको १२ पटक भ्रमण गरिसक्नुभएको छ ।