बेलायत, पुस २३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) का पूर्वअध्यक्ष भक्त गुरुङसहितका नेताहरुले समृद्ध नेपाल निर्माणमा ठोश योगदान गर्ने अठोटसहित डायस्पोरासँग नजोडिँदासम्म नेपालको विकास सम्भव नहुने निश्कर्ष सुनाएका छन । ओएनएफ युकेको स्थापना दिवसको अवसरमा नेताहरुले यस्तो अठोट र सुझाव राखेका हुन ।
यही जनवरी ५ तारिक आइतबार पश्चिम लन्डनमा आयोजित प्रवासी नेपाली मञ्च युकेको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका पूर्वअध्यक्ष तथा सल्लाहकार समिति सभापति गुरुङले डायस्पोरासँग नजोडिँदासम्म नेपालको विकास सम्भव नहुने ठोकुवा गर्नुभयो।
उहाँले ओएनएफ नेपालको समृद्धि र लोकतन्त्रका लागि क्रियाशिल संस्था भएको भन्दै त्यो गौरवपुर्ण इतिहास कायम राख्न सवै सदस्यहरु नेतृत्वको निर्देशन पालना गरेर अघि बढन जरुरी रहेको तथ्यसमेत स्मरण गर्नुभएको छ । उहाँले सन २००४ मा तत्कालीन राजा ज्ञानेन्द्रले लोकतन्त्र अपहरण गरेको बेला लोकतन्त्र तथा मानव अधिकारको रक्षा गर्न एनडीएफको स्थापना गरिएको स्मरणसमेत गर्नुभयो ।
पूर्वअध्यक्ष गुरुङले नेपाललाई समृद्ध बनाउन, प्रवासमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालसँग जोड्न र समृद्ध नेपाल बनाउन ओएनएफल दृढतापुर्वक काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । भारतलगायत संसारभर रहेका झन्डै एक करोड प्रवासी नेपालीलाई समृद्ध नेपाल निर्माणको अभियानमा परिचालित गर्नु पर्ने आवश्यकता पनि गुरुङलेले औल्याउनु भयो । उहाँले प्रवासी नेपाली मञ्चलाई बढीभन्दा बढी नेपालीहरु माझ पुर्याउन आग्रह पनि गर्नुभएको छ ।
प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गुरुङसहित ओएनएफ अन्तराष्ट्रिय कमिटीका उपसचिव कर्ण शाही, अन्तराष्ट्रिय कमिटीका सदस्य एवं युके इञ्चार्ज सरस्वती केसी, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सदस्य कल्पना त्रिपाठी, युकेका पूर्वअध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिम्खडा, राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया लगायतले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनको क्रममा बिशेष अतिथी प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका उपसचिव कर्ण शाहीले आफूहरु योजनावद्ध रुपमा अघि बढेको भन्दै अव हरेक राष्ट्रिय कमिटीले कामबाटै आफूलाई अब्बल सावित गर्न जरुरी रहेको बताउनु भयो । यस्तै अन्तराष्ट्रिय कमिटीका सदस्य तथा युके इन्चार्ज सरस्वती केसीले समृद्ध नेपाल निर्माणको अभियान सफल बनाउन अन्तराष्ट्रिय कमिटी योजनावद्ध रुपमा लागेको भन्दै सो काममा सहभागितासहित अभियान चलाउन युकेका सवैलाई आग्रह गर्नुभयो । उहाँले जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने काममा बिशेष ध्यान दिनसमेत निर्देशन दिनुभयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहनुभएका ओएनएफ युकेका पूर्वअध्यक्ष सिम्खडाले २०१४ जनवरी ५ मा आफू मञ्चको अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै अझ जुझारु रुपमा अगाडि बढ्न बर्तमान कार्यसमितिलाई शुभकामना दिनुभयो । उहाँले मञ्चको हरेक योजना पूरा गर्न आफूलागिपर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।
अर्का पूर्वअध्यक्ष पुडासैनीले संस्थाको स्थापनाको स्मरण गर्दै बार्षिकोत्सवमा सहभागी सवैलाई धन्यवादसहित अव गर्नुपर्ने कामको बिषयमा चर्चा गर्नुभयो ।
यसैगरी मञ्चका अन्तराष्ट्रिय कमिटी सदस्य तथा आर्थिक बिभाग प्रमुखसमेत रहनुभएका पूर्वअध्यक्ष सुरेन्द्र थपलियाले सन २००४ डिसेम्बर २० का दिन आङ्ग कल्जंग लामाको निवासमा भेला भएर आफुहरुले संस्था स्थापना गरेको स्मरण गर्नुभयो । उहाँले नेपालको उन्नति प्रगति र नेपालीको सुख दूःखमा साथ दिनुका साथै मञ्चले सामाजिक र परोपकारी कामहरु गर्दै आएको जानकारी पनि गराउनु भयो । थपलियाले अन्तराष्ट्रिय कमिटीले श्रमिक राहत कोष खडा गर्न संस्थाले छिट्टै आकर्षक उपहारसहितको राफल टिकट बिक्री अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा ओएनएफ युके नर्थ वेष्ट कमिटी अध्यक्ष भिमलाल भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी युकेका अध्यक्ष पवन शर्मालगायतले पनि कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो । प्रवासी नेपाली मंच युकेका अध्यक्ष भुसालले कोभिड महामारीको समयमा मन्चले अन्तर्राष्ट्रिय कमिटीसँग मिलेर पोखराको एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै थुप्रै अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाएको स्मरण गर्नुभएको थियो ।
अध्यक्ष भुसालले सन् २०१५ को महाभूकम्प लगायत विपदको बेलामा सक्दो सहयोग गर्दै आएको जनाए।उनले मंच नेकपा एमालेसंग निकट रहेको बताउंदै एमालेका राम्रा कामहरुको प्रचार प्रसार गर्नुका साथै कमी कमजोरी सच्याउन आफूहरुले रचनात्मक सुझाव पनि दिने गरेको जानकारी गराउनु भयो । कार्यक्रममा सपन राई तथा श्याम खत्रीले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो भने सीमा अधिकारी, अनीशा लगायतले रोचक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
प्रवासी नेपाली मञ्च युकेका सचिव पुण्य रेग्मीले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष डा. मुकुन्द बास्तोलाले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराउनु भएको थियो । समारोहको सुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्