जनता टाइम्स

२४ पुष २०८१, बुधबार ०९:३५

सहकारी ठगीमा कांग्रेस उपसभापति धनराजसँग सिआइवीले लियो ५ घण्टा लामो बयान


काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वकानून मन्त्री धनराज गुरुङसँग प्रहरीले ५ घण्टा बयान लिएको छ । सहकारी ठगीको आरोप लागेका सत्तारुढ कांग्रेसका उपसभापति गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मंगलवार ५ घण्टा लामो बयान लिएको हो ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गुरुङसँग प्रहरीले यो दोस्रोपटक बयान लिएर कागज गराएको हो । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा गुरुङसँग सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर बयान कागज गराइएको जानकारी दिनुभयो ।

सीआईबीसमक्ष गुरुङले सहकारीले घर पनि लगेको र परिवार पनि बिगारेको भन्दै ठगीमा आफ्नो संलग्नता इन्कार गर्नुभएको छ । एआईजी थापाले ठगीको अनुसन्धान जारी रहेको र अझै तथ्य प्रमाणहरू संकलनका क्रममा रहेको जानकारी दिनुभयो ।

’अनुसन्धानकै क्रममा गुरुङलाई सोधपुछ बयानका लागि डाकिएको हो । हामीले संकलन गरेका तथ्य, प्रमाणलाई टेकेर केही कुरा बुझ्नका लागि बोलाएका हौं । अनुसन्धान अझै जारी रहेकाले अरू कुरा खुल्दै जाला,’ एआइजी थापाले भन्नुभयो । प्रहरीका अनुसार सो सहकारीको ’ठगी प्रकरणमा केही व्यक्ति फरार छन । उनीहरूको खोजीमा इन्टरपोलमार्फत रेड नोटिस नै जारी भइसकेको छ ।

ललितपुरको मितेरी सहकारीमा श्रीमतीसँग मिलेर गुरुङले करोडौं रकम ठगी गरेको आरोप छ । उक्त सहकारीमा गुरुङले श्रीमती ज्योती गुरुङलाई २०५७ जेठ १२ मा सहायक स्तरको कर्मचारी बनाउनु भएको, त्यसको २ महिनापछि साउन २५ मा ज्योति सहकारीको लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल र २०७५ वैशाख ४ मा महाप्रबन्धक बन्नुभएको र र सोही आडमा ठगी गरेको आरोप लागेको छ ।

महाप्रबन्धक बनेपछि ज्योतीले ज्योतिबहादुर भण्डारीलाई सहकारीको रकम मिटरब्याजमा लगाएको पनि खुलेको छ । आफू महाप्रबन्धक भएपछि भण्डारीलाई ज्योतीले पटक–पटक सहकारीको रकम मिटरब्याजमा लगाउनु भएको थियो ।सुरुमा ज्योति गुरुङले सहकारीबाट ३० लाख रुपैयाँ झिकेर ज्योति भण्डारीलाई एक साताका लागि सापटी दिएकामा भण्डारीले ५ लाख थपेर फिर्ता गरेको तथ्य भेटिएको छ।

दोस्रो चरणमा ४० लाख दिएकामा त्यसको अर्को साता १० लाख थपेर भण्डारीले रकम फिर्ता गरेको पनि खुलेको छ । एकपटक ५० लाख दिएकामा ६० लाख फिर्ता भयो । यसरी हप्तैपिच्छे मिटरब्याजमा सहकारीको रकम लगाउँदा आकर्षक पैसा आउन थालेपछि यो क्रम बढ्दै गएर ज्योतीले भण्डारीलाई करिब साढे ३ करोड रुपैयाँ मिटरब्याजमा लगाउनु भएको पाइएको प्रहरीको भनाई छ । तर, उक्त रकम फिर्ता नगरी भण्डारी सम्पर्कविहीन हुनुभएको थियो ।

सहकारीका सदस्य र अनुसन्धानरत प्रहरी का अनुसार पत्नी ज्योतीको यस धन्दाबारे सोही बेला कांग्रेस नेता गुरुङ जानकार हुनुहुन्थ्यो । प्रहरीका अनुसार ज्योतीको सहकारीबाट रकम अपचलनको क्रम २०७९ सालसम्म कायम रहेको भेटिएको छ ।

सहकारी प्रकरणको विषय सञ्चालक समिति र सेयरधनीसम्मै बाहिरिएपछि २०७६ मा धनराजले पत्नीसँग अदालतमा सम्बन्धविच्छेद गर्नुभएको थियो । तर त्यसपछि पनि धनराजले श्रीमतीलाई हकवाला राखेर सहकारीबाट ऋण लिनुभएको र २०७९ को निर्वाचनमा श्रीमतीको नाम ज्योती गुरुङ नै उल्लेख गरी बिवरण निर्वाचन आयोगमा बुझाउनु भएको थियो । सोही कारण धनराजमाथि सहकारी ठगीका लागि पत्नी ज्योतीसँग कृतिम सम्बन्ध बिच्छेद गरिएको आरोपसमेत लागेको छ ।