विराटनगर, पुस २४ । मोरङको धनपालथान ३ मा रहेको उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिनुभएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित हुनुभएको छ ।
गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि कोइराला आज जिल्ला अदालतमा उपस्थित हुनुभएको हो ।
विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहनुभएकी कोइरालालाई फरार प्रतिवादी बनाएर मुद्धा दायर गरिएको थियो । कोइराला आज कार्यालय समय सुरु हुनसाथ अदालतमा उपस्थित हुनुभएको हो । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उहाँको थुनछेक बयान हुने गरी पेसी तोकिएको छ। अदालतका अनुसार बयान सकिएपछि थुनछेक बहस हुनेछ।
सो सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । हालसम्म एक जना पुर्पक्षको लागि थुनामा रहेका छन् भने एक जना धरौटीमा रिहा भएका छन । यस्तै २३ जना प्रतिवादी अझै फरार रहेका छन ।
प्रतिक्रिया दिनुहोस्