कञ्चनपुर, पुस २६ । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त रहनुहुन्छ । अनि साँझमा टिपेका तरकारी बिहानै मोटरसाइकलमा राखेर बजारसम्म पुर्याएर बिक्रि गर्नुहुन्छ ।
यो कार्य उहाँले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आउनुभएको छ । दिउँसोपख भने चौधरीको अधिकांश समय वडाको कार्यमा बित्ने गर्छ । तरकारी खेतीले घर खर्च चलाउन सहज हुने भन्दै उहाँले निरन्तर रूपमा सो ब्यवसाय गर्दै आउनु भएको छ ।
चौधरी तरकारीखेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित हुनुहुन्छ । त्यहीँ भएर उहाँ दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन् । बिदाका दिन वडाको काम नपरे उहाँ दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउनुहुन्छ । उहाँकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने, बोक्ने कार्यमा चौधरीलाई सघाउनुहुन्छ । वर्षमा वडाध्यक्षले रू पाँच लाखजत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । दश कठ्ठा जग्गामा उहाँले तरकारीखेती गर्नुभएको छ ।
काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मुला, घ्यूसिमी, भान्टा, आलुलगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन् । ‘काउली मात्र बेचेर ५० हजार रुपैयाँ जतिको आम्दानी भएको छ,’ चौधरीले भन्नुभयो, ‘पहिलोपटक लगाएको काउली बेचिसक्यौँ, दोस्रोपटक लगाएको काउली आउँदो महिना बेच्न ठिक हुन्छ ।’ काउलीबाहेकको अन्य तरकारी २० हजार रुपैयाँ जतिको बेचेको उहाँ बताउनुहुन्छ ।
‘बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन,’ अध्यक्षका श्रीमती सावित्री चौधरीले भन्नुभयो, ‘आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौँ ।’ यसअघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सीलगायतको खेती गरी एक लाख आम्दानी हात पार्न सफल भएका थिए । तरकारीखेतीको कमाइले परिवारको खर्चसँगै छोराको पढाई खर्च व्यहोर्दै आएका छन् । नगरपालिकाबाट पाइने पारिश्रमिक सामाजिक कार्यमै खर्च गरेर सिद्धिने उहाँ बताउनुहुन्छ ।
“आर्थिक सहयोग माग्नेलाई दिनैपर्यो । भेट्न आउने पाहुनाको सेवा सत्कार गर्नैपर्यो, सामाजिक कार्य गर्न सहयोग माग्नेलाई नाइनास्ती गर्न पाइएन, यस्तो अवस्थामा नगरबाट उपलब्ध हुने पारिश्रमिकले भ्यान निकै गाह्रो हुन्छ, वडाध्यक्ष चौधरीले भन्नुभयो ।
बिहान, साँझ र बिदाको दिनको सदुपयोग बारीको काम गरेर बिताउने चौधरी वडाको विकासका कार्यमा पनि उत्तिकै चासो राख्नुहुन्छ । गाउँका सडक स्तरोन्नति गर्ने कार्यमा श्रमदान गर्न अग्रसर भएर अगाडि सर्नुहुन्छ । परिश्रमी वडाध्यक्षका रूपमा वडावासीले उहाँलाई चिन्ने गर्छन् । विकास निर्माण, सामाजिक कार्यमा अग्रणी रहने भएकाले दोस्रोपटक वडाध्यक्षको नेतृत्व सम्हाल्ने मौका वडावासीले दिएको बिलबहादुर चौधरी बताउनुहुन्छ ।
वडा अध्यक्षकै प्रयासमा व्यवसायिक तरकारी खेती गर्ने किसानले खेत जोत्नका लागि पावर टिलर, तरकारी खेती गर्न प्लाष्टिका हाइटेक टनेल, सिँचाइका लागि विद्युतीय मोटर तथा पम्पसेट पाएको उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्