जनता टाइम्स

२८ पुष २०८१, आईतवार १३:५३

एउटै गोदामबाट ८६ हजार थान भेप बरामद


ललितपुर, पुस २८ । राजस्व अनुसन्धान विभागले राजस्व छलेर नेपाल भित्र्याइएका ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।

राजस्व अनुसन्धान विभागले दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद गरेको हो । ब्यापारिक घरानाले आफ्नो पुहँचका आधारमा चीनको कोरला नाकाबाट भित्र्याइएको भेप बरामद गरिएको राजस्व बिभाग स्रोतले बताएको छ ।

चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकाबाट भेप आयात हुँदै आएकोमा यस पटक कोरला नाकाको पनि प्रयोग भएको छ । राजस्व तिरेर भेप आयात गर्न पाउने कानुनी व्यवस्था भएपनि चोरी पैठारी रोकिएको छैन ।

भन्सार छलेर लुकाइछिपाई भेप नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित एक गोदामबाट मात्र एक साताअघि ८६ हजार थान भेप बरामद गरेको थियो । राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालय तथा प्रहरीको विशेष निगरानीबाट मुस्ताङबाट ९५ कार्टुनमा १९ हजार थान भेप बरामद भएको छ । यसैगरी पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको विभागले जनाएको छ ।

गत १९ गते मुस्ताङको कोरोला नाकामा बरामद गरेर ल्याइएको भेप प्रहरीले राजस्व अनुसन्धानलाई बुझाएको थियो । प्रहरीले गाडीमा राखेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्ट नजिकैबाट नियन्त्रणमा लिएको थियो । मुस्ताङ प्रहरीले गाडीसहित चालकलाई राजस्व अनुसन्धानमा बुझाएको थियो ।

राजस्वले मुस्ताङबाट ल्याएको गाडीमा भेटिएको भेपको अनुसन्धान गर्ने क्रममा प्राप्त सूचनाका आधारमा इमाडोलको गोदाममा छापा मारिएको हो । त्यहाँबाट विभागले ठूलो परिमाणमा भेप बरामद गरेको छ । राजस्वले हाल बरामद गरेको भेपको बजारमा मूल्य मात्रै २५ करोड रुपैयाँभन्दा बढी रहेको जनाएको छ । बरामद भएका भेप विभिन्न ’फ्लेभर’का छन ।

एउटा भेपको बजार मूल्य १५ सय देखि २५ हजार रुपैयाँसम्म पर्ने विभागले जनाएको छ । विभागका अनुसार अनुसन्धानका क्रममा इमाडोलबाट दुई र मुस्ताङबाट एक जनालाई पक्राउ गरिएको छ ।