जनता टाइम्स

१ माघ २०८१, मंगलवार १२:२०

दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत


टोकियो, माघ १ । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि एसियाली छिमेकीहरूले चिसो सम्बन्ध सुधार्ने प्रयास गर्ने क्रममा चिनियाँ सैन्य प्रतिनिधिमण्डल एक दुर्लभ आदानप्रदान भ्रमणमा रहेको मङ्गलबार जापानले जनाएको छ । चिनियाँ जनमुक्ति सेना ९पिएलए० को पूर्वी थिएटर कमान्डका सदस्यहरूले सोमबारदेखि शुक्रबारसम्म आफ्ना जापानी समकक्षी र वरिष्ठ जापानी रक्षा अधिकारीहरूसँग भेटवार्ता गरिरहेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायाशीले बताउनुभयो ।

नोभेम्बरमा लाओसमा क्षेत्रीय रक्षा भेलाको छेउमा जापानी र चिनियाँ रक्षामन्त्रीहरूको भेटवार्तापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यहाँ उहाँहरूले सेनाहरू बीच आदानप्रदान बढाउन सहमति जनाउनुभएको हयाशीले जानकारी दिनुभयो । ‘पाँच वर्षपछि पहिलो पटक यसले सैनिकहरूबीच आदान–प्रदान पुनः सुरु गरेको छ’, उहाँले नियमित प्रेस ब्रिफिङमा भन्नुभयो,‘कमान्डर स्तरमा खुला सञ्चारमार्फत आपसी बुझाइ र विश्वासको प्रवद्र्धनले जापान र चीनबीच रचनात्मक र स्थिर सम्बन्ध निर्माणमा योगदान पुर्याउनेछ, हामीलाई लाग्छ यो भ्रमणले क्षेत्रको शान्ति र स्थिरतामा योगदान पुर्याउँछ ।’

पिएलए पूर्वी थिएटर कमाण्डले पनि यही विचार व्यक्त गरेको छ । ‘यो भ्रमणले दुई पक्षबीच समझदारी र आपसी विश्वास बढाउन तथा चीन र जापानबीच रक्षा आदानप्रदानलाई बढावा दिन मद्दत गर्नेछ’, विज्ञप्तिमा भनिएको छ । जापान र चीनले वर्षौंदेखि क्षेत्रीय र ऐतिहासिक विवादका साथै अन्य मुद्दाहरूले तनावग्रस्त सम्बन्धलाई सुधार्ने प्रयास गरिरहेका छन् । तनाव कम गर्न जापानी विदेशमन्त्री ताकेशी इवायाले डिसेम्बरमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट्नुभएको थियो ।

जापानी सत्तारूढ सांसदहरू पनि कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरूसँग बैठकका लागि यस हप्ता चीनको भ्रमणमा छन् र जापानका कृषिमन्त्री बुधबार चीन जाँदै हुनुहुन्छ । जापानका राष्ट्रिय सुरक्षा सल्लाहकार टेको अकिबाले नोभेम्बरमा चीनको भ्रमण गरी वाङसँग वार्ता गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका लागि मार्ग प्रशस्त गर्न टोकियोले अर्को महिना वाङलाई जापानमा निम्तो दिने अपेक्षा गरिएको निक्केई व्यापार दैनिकले गत हप्ता रिपोर्ट गरेको थियो । सन् २०१९ मा ओसाकामा भएको समूह २० को शिखर सम्मेलनमा अन्य विश्व नेताहरूसँगै आएको बाहेक सीले राष्ट्रपति बनेदेखि भ्रमण गर्नुभएको छैन ।