काठमाडौं, माघ ३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले सन २०२५ लाई संगठनको सदस्यता बृद्धिको बर्ष बनाउने अठोट गरेको छ । नयाँ बर्ष २०२५ को अवसरमा शुभकामना सन्देश दिँदै ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले यस्तो योजना अघि सार्नुभएको हो ।
ओएनएफ अन्तराष्ट्रिय कमिटीले सन २०२४ लाई राष्ट्रिय कमिटीको अधिवेशनको बर्षको रुपमा अभियान चलाएको थियो । यस बर्ष सदस्यता बृद्धि र जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने नारालाई सफल बनाउने बर्षको रुपमा अघि बढने ओएनएफले नयाँ बर्षले प्रवासमा रहेका सवै नेपालीदेखि मातृभूमि नेपालमा रहेका नेपालीको समृद्धीको कामना गरेको छ । नयाँ बर्ष २०२५ को अवसरमा अध्यक्ष सञ्जय थापाले शुभकामना दिँनुहुँदै नयाँ बर्ष सवैका लागि शुभ रहोस भन्ने शुभकामना दिनुभएको हो ।
अध्यक्ष थापाले बितेको बर्ष सन २०२४ प्रवासी नेपाली मञ्चको संगठन सुदृढिकरण र सदस्यता बिस्तारमा उल्लेख्य काम भएको भन्दै यस बर्ष थप उपलब्धी हासिल गर्ने अभियानमा सक्रियतापुर्वक लाग्न सवै राष्ट्रिय कमिटीदेखि सदस्यहरुलाई अपिल समेत गर्नुभएको छ । ‘सन २०२४ मा जुन काम पूरा हुनसकेन, यो बर्ष ती अधुरा काम पूरा गर्न हामी दृढसंकल्पकासाथ अघि बढनुपर्छ, मातृभूमि नेपालको समृद्धिका लागि प्रवासमा रहेका सवै नेपालीलाई जोडने काम पनि गर्ने गरी योजना अघि बढाइएको छ,’ अध्यक्ष थापाले भन्नुभयो ।
यस्तै उहाँले श्रमिक राहत कोषको सहयोगार्थ नेपाली नयाँ बर्ष शुभकामना राफल कार्यक्रम आगामी वैशाख १ गते खोलिने कार्यक्रम रहेको जानकारी दिँदै सक्रिय सहभागिताका लागि सवैसदस्यलाई अपिल गर्नुभएको छ । यसका साथै २ सय भन्दा वढी सदस्यता भएको देश अमेरिका, युके, अस्ट्रेलिया, जापान र २ सय सदस्य नपुगे पनि गत वर्ष अधिवेशन नभएको देश, इजÞरायल र नेदरल्याण्ड साथै विविध कारण गत वर्ष सम्पन्न नभएको युरोपका केही साना देश र न्युजिल्याण्डको अधिवेशन सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।
यसैगरी यो वर्ष वैचारिक रुपमा प्रशिक्षणको कार्यक्रम व्यापक गरिने र २०८४ को निर्वाचनपूर्व सदस्यतामा उल्लेख्य बृद्धि गर्ने बताउनु भयो । आगामी निर्वाचनमा प्रवासबाट कम्तीमा पनि २ लाख भोट पार्टीलाई थप गर्ने ओएनएफको योजना रहेको जनाउँदै सो योजना सार्थक वनाउन अन्य योजनाहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।
यसैगरी यो वर्ष साहित्य कला र संस्कृति विभागको पहलमा एउटा अन्तर्राष्ट्रीय गीत र अर्को निर्वाचन सहयोगी गीत सुरुमा अडियो र त्यसपछि भिडियोसहित निर्माण गर्ने योजना रहेको तथा जाजरकोटमा निर्माणाधीन स्वास्थ चौकी पनि ढिलोमा फागुन महिनाभित्र सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हस्तान्तरण गर्ने जानकारी अध्यक्ष थापाले दिनुभएको छ ।
पछिल्लो समय ओएनएफ निकै सक्रियताका साथ संगठन बिस्तार र मातृभूमि नेपालको समृद्धिसँग प्रवासमा रहेका नेपालीलाई जोडने अभियानमा लागेको छ । यो बर्ष सो कामलाई थप सुदृढ गर्ने थापाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्