जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार ०९:१५

कृषि विकास बैंक ह्याक प्रकरण : मुख्य अभियुक्तको पहिचान खुलेपछि प्रहरीको टोली भारतमा


काठमाडौं, कात्तिक ८

कृषि विकास बैंक लाहान शाखाको ‘सिस्टम’ नै ह्याक गरी करीव पाँचकरोड चोरी घटनाका मुख्य अभियुक्त पिटर भन्ने अफ्रिकी मुलुक नाइजेरियाली नागरिक रहेको पाइएको छ ।

अभियुक्त पिटर भारतमा रहेको खुलेको र निजलाई पक्राउ गर्न प्रहरी टोली भारत पुगेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, भारतमा रहेका पिटरको पहिचान खुलेसंगै नेपाल प्रहरीको विशेष टोली पक्राउका लागि परिचालन गरिएको छ । उनको पक्राउपछि बैंकिङ सिस्टम ह्याकिङ अपराध सम्वन्धी विस्तृत विवरण वाहिर आउने अपेक्षा गरिएको छ ।

महाशाखा प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले मुख्य अभियुक्त पिटर भन्नेको पहिचान खुलेको बताउनुभयो । विस्तृत विवरण वाहिर ल्याउदा अनुसन्धान प्रभावित हुने भएकाले केही खुलाइएको छैन, उहाँले भन्नुभयो–पक्राउको प्रयास जारी छ ।

कृषि विकास बैंकको प्राविधिक टोलीले पनि लाहान शाखाका अधिकृत सुनिलकुमार साहको कम्प्युटरबाट युजर नेम र पासवर्ड चोरी भएको हो वा ह्याक भन्ने विषयमा विस्तृत विवरण दिन सकेको छैन । जस्का कारण अनुसन्धानमा केही ढिलाई भइरहेको छ ।

प्रहरीले शाखा अधिकृत साहलाई पक्राउ गरी अनुसन्धान गर्दा उहाँले युजर नाम र पासवर्ड चोरी भएको वयान दिनु भएको छ । उहाँको वयानले प्रहरीलाई मुख्य अभियुक्त पिटर पक्राउ गर्नै पर्ने थप दवाव आइलागेको छ । कृषि विकास बैंक ह्याकिङ अपराधमा संलग्न रहेको अभियोगमा अपराध महाशाखाले हालसमम १७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरुमा फरार अभियुक्त पिटरका सहयोगीहरू र ती सहयोगीका पनि सहयोगीहरु छन् । पिटर सहित पाँचजना अझै फरार छन् ।

पक्राउ परेकाहरु मध्ये नौजना कृषि विकास बैंकको विभिन्न शाखामा खाता रहेका ग्राहक छन् । पिटर तथा उनका सहयोगीहरुले अज्ञातस्रोबाट ब्यक्तिगत खातामा जम्मा भएको रकम मध्ये १५ देखि ३२ प्रतिशत कमिसन राख्न लगाई बाँकी हुण्डीमार्फत भारत पठाउन निर्देशन दिदै आएका थिए ।

गत असोजको पहिलो हप्ता वानेश्वरस्थित पानस रेमिटेन्समा कार्यरत एकयुवतीको युजर नाम र पासवर्ड प्रयोग गरी रसुवाकी लक्ष्मी तामाङ, निमा तामाङ र लवाङ तामाङका नाममा विभिन्न स्थानबाट नियमित रुपमा रकम आइरहेको थियो ।

सो रहस्यमय घटनामाथि शंका लागि रेमिटेन्सका कर्मचारीले नै प्रहरीलाई खवर गरेपछि कृषि विकास बैंक लाहान शाखा कर्जा अधिकृत साहले प्रयोग गर्ने कम्प्युटरको यजुर नाम र पासवर्ड चोरी वा ह्याक भएको रहस्य खुलेको हो ।
यसरी, अज्ञात स्रोतबाट ब्यक्तिगत खातामा जम्मा हुने र आइएमईबाट प्राप्त हुने सम्पूर्ण नगद कृषि विकास बैंक लाहान शाखाको ब्याज रकम भएको बैक व्यवस्थापन समितिले जनाएको छ । प्रहरीका अनुसार, शाखा अधिकृत साह र फरार अभियुक्त पिटरबीच कुनै सम्पर्क तथा सम्वन्ध देखिएको छैन ।

अभियुक्त पिटर ग्राहक भएर लाहान शाखामा प्रवेश गरी गोप्य युजर नाम र पासवर्ड चोरी गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । यसअघि कर्मचारीको मिलिमतोको आशंका गरेपनि साहमाथि गरिएको अनुसन्धानले पुष्टि गर्न सकेको छैन ।

पक्राउ परेका हुण्डी कारोवारी शुभांकर पन्जा, पर्वतका गणेश बस्याल, नुवाकोटका लवाङ तामाङ, लमजुङका विद्याासागर लामिछाने, कैलालीका चन्द्रबहादुर बुढा र यज्ञराज भट्टलाई विभिन्न शाखामा रहेको ब्यक्तिगत खाताबाट रकम झिक्न लगाउने ब्यक्तिको योजना छअर्व चोरी गर्ने थियो ।

तर, पानस रेमिटेन्स सञ्चालकलाई शंका लागि समयमा नै प्रहरीलाई खवर गर्दा लाहान शाखाबाट ब्यक्तिगत खातामा जम्मा भएको करीव चार करोडका साथै झिकीएको एककरोड ५६ लाख पनि बरामद भएको हो । हुण्डी गरी पठाएको १० लाख वाहेक सम्पूर्ण रकम बरामद भएको छ । (गोरखापत्र)