धादिङ, माघ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरहेको बताउनु भएको छ ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटनपछि मन्त्री पाण्डेले प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयसँगको समन्वयमा कार्ययोजना तयार गरिरहेको बताउनु भयो ।
मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर रहेको र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । ‘नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्, अहिले पनि लाखौँ पर्यटक ल्याउने अवसर छ,’, उहाँले भन्नुभयो, ‘हाम्रा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ ।’
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका पाण्डेले मूल प्रतिस्पर्धी नेकपा एमालेसँगको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताउनुभयो । “एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै हुन्छ,’ उहाँले भन्नुभयो, ‘एमालेसँग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा हुन्छ । अहिले एमाले र कांग्रेसको गठबन्धन सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारलाई स्थायित्व दिनको लागि हो ।’
प्रतिक्रिया दिनुहोस्