इजरायल, माघ ६ । प्रवासी नेपाली मञ्च (ओएनएफ) इजरायलले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना आदान-प्रदान तथा धार्मिक तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलकी अध्यक्ष गीता सुवेदीको अध्यक्षता यही जनवरी १७ तारिक शुक्रबार साँझ तेलअविभमा भएको कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डित प्रमुख आतिथि रहनुभएको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य एवं इजरायलकी इन्चार्ज ज्योती शर्मा र नेपाली दूतावास इजरायलका कर्मचारी संजय शाह विशेष आतिथिका रुपमा सहभागी हुनुभएको थियो ।
मञ्चले शुक्रवारको कार्यक्रम पश्चात शनिबार इजरायलको धार्मिक तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमण गरेको थियो । कार्यक्रममा इजरालमा रहेर केयर गिभर, कृषि, होटल, रेष्टुरा लगाएतका क्षेत्रमा काम गर्ने नेपालीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी राजदूत पण्डितले शुभकामनासहित इजरायलमा रहि विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीहरुको कामप्रतिको लगनशिलता र इमान्दारीताले इजरायली सरकार र रोजगारदाता खुशी भएको र रोजगारदाताको मन जित्न सफल भएको जानकारी आफूले पाएको बताउनु भयो । उहाँले आगामी दिनमा अझ राम्रो काम गर्नको लागि सुझावसमेत दिनुभएको छ ।
कार्यक्रममा आयोजकको तर्फबाट इजरायलमा रहेर कृषि क्षेत्रमा काम गरिरहेका नेपाली युवाहरुको समस्या र समाधानको विषयमा राजदूतलाई जानकारी गराउनुका साथैसमाधानको लागि नेपाल सरकार समक्ष पहलकदमीको लागि अनुरोध गरिएको छ । विभिन्न देश र माध्यमबाट इजरायलमा आइ हाल कृषि क्षेत्रमा काम गरिरहेका नेपालीहरुको लागि श्रम स्वीकृति दिने व्यवस्था मिलाउन पहल गर्नुपर्ने, कृषि क्षेत्रमा काम गर्ने नेपालीहरुलाइ सरकारी नियमानुसारको पारिश्रमिक, स्वास्थ्य उपचार र आवासको विषयमा ध्यानाकर्षण गराउनुपर्ने माग गरिएको छ ।
यस्तै आगामी दिनमा इजरायलमा कृषि, होटल रेष्टुरा, निर्माण लगायतका क्षेत्रमा सरकारी स्तरबाट नेपाली कामदार ल्याउन पहल गर्नुपर्ने लगायत विभिन्न विषयमा पनि अनुरोध गरिएको थियो ।माग सुनेपछि राजदूत पण्डितले कृषि र कियर गिभरमा काम गरिरहेका नेपालीहरुको समस्या समधानको लागि आफूले यथाशिघ्र पहलकदमी लिने प्रतिवद्धता जनाउनु भएको छ ।
यस्तै उहाँले नेपाली युवा विपिन जोशीको सकुशल रिहाइकालागि पहलकमदी भइरहेको जानकारी दिनुभयो । हमास र इजरायलबीच गाजा युद्ध रोक्ने विषयमा सहमति भएको भन्दै उहाँले सन २०२३ अक्टुबर ७ का दिन हमासले नियन्त्रणमा लिइ बन्धक बनाएका नेपाली युवा विपिन जोशीको रिहाइको लागि नेपाल सरकारको तर्फबाट इजरायल सरकार र मध्यस्थता गरिरहेका राष्ट्रहरु समक्ष पटकपटक कुरा भएको र केही समयपछि विपिन हमासको नियन्त्रणबाट मुक्त हुने विश्वास लिइएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा इजरायल इञ्चार्ज ज्योती शर्मा, इजरायलकी अध्यक्ष गीता सुवेदीले इजरायलमा रहेका जोकोही नेपालीलाई समस्या पर्दा संस्था पुग्ने गरेको भन्दै यस काममा दूतावासको थप पहलकदमी हुन आवश्यक रहेको सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्